३२ वर्षदेखि नवीकरण भएन नेपाल-चीन सीमा प्रोटोकल - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

३२ वर्षदेखि नवीकरण भएन नेपाल-चीन सीमा प्रोटोकल



काठमाडौं- नेपाल र चीनबीच सीमा व्यवस्थापन प्रणालीमा छलफल गर्ने सहमति भए पनि तीन दशकदेखि बाउन्ड्री प्रोटोकल नवीकरण हुन सकेको छैन।

सीमा व्यवस्थापनका विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको दश महिनाअघि नेपाल भ्रमणमा र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणमा चर्चा भएको छ।

तर, ३२ वर्षदेखि दुई देशबीच सीमा प्रोटोकल नवीकरण हुन सकेको छैन । यससम्बन्धी द्विपक्षीय संयन्त्रको बैठक नै बस्न नसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

चीनका राष्ट्रपति सी जिनपिङ गत २६ र २७ असोजमा नेपाल भ्रमणका वेला दुई देशबीच सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता भएको थियो । उच्चस्तरीय वार्तापछि २७ असोजमा जारी नेपाल–चीन संयुक्त वक्तव्यको बुँदा नं.९ मा सम्झौताप्रति उच्च नेतृत्वले सन्तुष्टि व्यक्त गरेको र सम्झौताले दुवै पक्षबीच सीमा व्यवस्थापन र सहकार्य थप सुधार हुने अपेक्षा गरेको उल्लेख छ ।

तर, त्यसयता संयुक्त सीमा समितिको बैठक बस्न सकेको छैन । स्रोतका अनुसार ०६८ मा नेपालले अन्तिम समयमा बैठकमा सहभागी हुन नसक्ने बताएकाले नेपालबाट यसको पहल हुनुपर्ने चीनको मनसाय छ । नेपालले यसका लागि सार्थक प्रयास नगरेको सरकारी स्रोतले बतायो।

चीनसँग १९६१ अक्टोबर ५ मा सीमासम्बन्धी सन्धि भएको थियो । नेपालबाट राजा महेन्द्र र चीनबाट राष्ट्रपति ल्यू साओचीले सन्धिमा हस्ताक्षर गरेका थिए ।

यसको तीन वर्षपछि १९६३ मा दुई देशबीच बाउन्ड्री प्रोटोकलमा हस्ताक्षर भएको थियो । त्यसपछि सन् १९७९ र १९८८ मा गरी जम्मा दुईपटक बाउन्ड्री प्रोटोकल नवीकरण भयो भने त्यसयता नवीकरण भएको छैन।