नेपाल समुहको निष्कर्ष: अब ओलीसँग मिल्न सकिँदैन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाल समुहको निष्कर्ष: अब ओलीसँग मिल्न सकिँदैन



काठमाडौं- नेकपा एमालेभित्रको माधव नेपाल र झलनाथ खनाल समूहमा रहेका नेताहरुले पार्टी एकता जोगाउने नाममा अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर बस्‍न नसकिने अवस्था आएको बताएका छन् । उनीहरुले अध्यक्ष ओली सत्ताबाट बाहिरिनुपरेपछि झन् आक्रामक र असहिष्णु बन्दै गएको उनीहरुको बुझाई छ ।

एमालेको माधव–झलनाथ समूहले अब छुट्टै पार्टी बनाएर वृहत् वाम ध्रुविकरणको पक्षमा माहोल बनाउने वा एमालेमै रहने भन्‍ने कुराको टुङ्गो छिट्टै लगाउने एक नेताले बताए । उनका अनुसार ओलीलाई सच्चाएर पार्टी एक ढिक्का राख्‍ने कुरा करिब–करिब अन्त्य भएको छ ।

ओलीलाई अध्यक्षबाट हटाउन पनि नसकिने र मिलेर जान पनि नसकिने अवस्था आइसकेको भन्दै ती नेताले ओलीको अहंकार, दम्भ र घमण्डले नै दुईतिहाई नजिक पुगेको पार्टी सडकमा आइपुगेको बताए । ओलीको बोलीमा अझै मिलेर जाने शब्द नै प्रयोग नभएको र पार्टी एवं कार्यकर्ताको भविष्यप्रति पनि चिन्तित भएको नपाइएको माधव–झलनाथ पक्षको विश्लेषण छ ।

प्रधानमन्त्रीबाट हटेपछि सयौं कार्यकर्ताको स्कर्टिङ्गमा निजी निवास बालकोट पुगेका ओलीले घरको बार्दलीमा उभिएर आफुलाई षड्यन्त्र, जालझेल र अदालत गुहारेर हटाइएको भन्दै त्यसमा आफ्नै पार्टीका नेताहरुको संलग्‍नता रहेको बताएका थिए । घरको आँगनमा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले पार्टीमा रहेका माधव–झलनाथ समूह र काँग्रेस, माओवादी, जसपा गठबन्धन सरकारसँगै अदालतको फैसलाबारे समेत आलोचना गरेका थिए ।

ओलीको बार्दलीमा उभिएर गरेको भाषणबाट नै स्पष्ट भइसकेको थियो कि उनले पार्टीभित्र रहेका माधव–झलनाथ समूहलाई मिलाएर लैजाने मुड बनाएका छैनन् । त्यसको परिणाम शुक्रबार बसेको पार्टीको बैठकमा देखियो । जुन बैठकले माधव–झलनाथ समूहलाई अप्ठ्यारो हुनेगरी निर्णयहरु गरेको छ । जसको कारण एमालेमा ओली–नेपाल सम्बन्ध झन् बिग्रँदो अवस्थामा पुगेको छ । स्रोतका अनुसार ओलीले माधव–झलनाथ समूह अझै पनि एमाले बनाउनभन्दा भत्काउन लागिरहेको बुझेका छन् ।

शुक्रबारको बैठक रोकेर पार्टीमा रहेका मतभेद हटाउँदै अगाडि बढौं भन्‍ने माधव–झलनाथ समूहको मागलाई बेवास्ता गर्दै ओलीले शुक्रबारको बैठकबाट महत्वपूर्ण निर्णयहरु समेत गराएका छन् । बैठकको निर्णयमा वर्तमान सरकारलाई विश्‍वासको मत नदिने कुरा उल्लेख छ । जबकि यो सरकार गठन हुनुमा एमालेभित्रको माधव–झलनाथ समूहमा रहेका २३ सांसदको मुख्य भूमिका छ । यसले माधव–झलनाथ समूहलाई नैतिक संकट उत्पन्‍न हुने भएकोले ओलीले यो निर्णय तत्काल गराएको स्रोतको दाबी छ ।

यता पार्टी अध्यक्षको नियत र व्यवहारमा खोट रहेको भन्दै माधव–झलनाथ समूहका केही नेताहरु अब ओलीसँगै टाँसिएर बस्‍न नहुने निष्कर्षमा पुगेको बताइएको छ । शुक्रबारको बैठकमा आफ्ना कुरा राखेर ओलीलाई सजिलो बनाइदिन खोज्दा उल्टै बैठक छाडेर हिँड्नुपर्ने अवस्था आएपछि पछिल्लो समय ओलीसँग नजिक भएका भनिएका उपाध्यक्ष भिम रावल, सुरेन्द्र पाण्डे‍लगायत नेता पनि बिच्किएको पार्टीभित्र चर्चा छ ।