ओलीले अध्यक्ष दिँदा माधवले अस्विकार गर्नुको रहस्य - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

ओलीले अध्यक्ष दिँदा माधवले अस्विकार गर्नुको रहस्य



काठमाडौं । पछिल्लो समय केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टी एकता गर्ने प्रस्ताव अघि सारे । माधव पक्षका नेतासमेत दोस्रो अध्यक्षमा लोभिन खोजे । तर, माधवले भने ओलीको त्यो प्रस्ताव सिधै अस्विकार गरे ।

अन्तिमसम्म पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका वरिष्ठ नेता नेपालले ओलीको त्यो प्रस्ताव ठाडै अस्वीकार गर्नुका धेरै कारण छन् । मुख्य कारण चाहिँ ओलीप्रति गुमेको विश्वास हो । अहिले ओलीको प्रस्तावमा मात्र होइन एउटा शब्दमा पनि विश्वास गर्ने अवस्थामा छैनन्, माधव ।

किनकी माधवलाई ओलीको त्यो प्रस्ताव पनि ‘हरियो घाँस’ मात्रै हो भन्ने थाहा छ । सोमबार आफ्ना समूहका स्थायी कमिटी सदस्यहरूको बैठकमा यसबारे माधवले लामो सम्बोधन राखेका थिए ।

माधवले भनेका थिए– ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपार्इंहरू मध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । म चाहिँ जान्न । तर, प्रशासनिक र राजनीतिक अधिकार सहितको अध्यक्ष भएर जानुस् ।’ उनले साँचो अर्थमा ओली ‘पावर सेयरिङ’का लागि तयार हुन सक्दैनन् । यो जालझले हो भन्न खोजेका थिए ।

ओली राजनीतिक तिकडममा माहिर छन् । स्वार्थ पूरा गर्न ओली जस्तोसुकै सम्झौता गर्न तयार हुन्छन् । तर, स्वार्थ पूरा गरेपछि वास्तै नगर्ने ओलीको पुरानै बानी हो । चार दशक लामो संगतमा माधवले ओलीबारे बुझेको यो नै हो । र, दोस्रो अध्यक्षका लागि ओलीको प्रस्ताव पनि ओलीले तत्कालिन स्वार्थ पूरा गर्न अघि सारेका हुन् भन्ने माधवको बुझाइ हो ।

माधव अहिले पाँच दलीय गठबन्धनमा छन् । परिस्थिति मिले छिट्टै सरकारमा सहभागी हुँदैछन् । ओली त्यसैबाट त्रसित छन् । पहिलो चरणमा माधव समूहलाई त्यो समूहबाट अलग्याउने ओलीको प्रयास हुनसक्छ । गठबन्धनबाट अलग्याएर ल्याउन सके पार्टीमा ल्याएर ठेगान लगाउने ओलीको योजना रहेको माधवको विश्लेषण हो । सोमबारको बैठकमा माधवको सम्बोधनबाट सोही कुरा बुझ्न सकिन्छ ।

सम्बोधनका क्रममा नेपालले भनेका थिए– ‘पाँच दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य बनाउने, चुनावमा जाने भएपछि हामीलाई एमाले भित्र टिकट बाँडफाँटको क्रममा बिचल्ली पारिदिने । यही होइन केपीले चाहेको ?’

माधवले यस्ता धेरै आधार प्रस्तुत गरेर ओलीको त्यो प्रस्ताव आफ्नो समूहबाट खारेज गराए । माधवले आशंका वा सम्भावनाका आधारमा भन्दा पनि विगत सम्झेर त्यसो भनेका थिए । ओली शक्तिमा आएपछि माधव समूहले खेप्दै आएको सबैभन्दा ठूलो पीडा नै ‘पावर सेयरिङ’मा ओलीको एक्लौटी राज हो ।

वर्तमान संसदमा माधव समूहका सांसद कम हुनुको कारण माधव समूहका नेता कमजोर भएर नभइ टिकट नदिएर हो भन्ने विश्लेषण हुँदै आएको छ । प्रदेश र स्थानीय सरकारमा समेत अवस्था उस्तै छ । एमाले हुँदा मात्र होइन । नेकपा माओवादीसँगको एकतापछि प्रचण्डलाई साथमा लिएर ओलीले माधव समूहलाई प्रतिबन्ध नै लगाए ।

टिकट बाँडफाँटमा मात्र होइन, राजनीतिक नियुक्तिदेखि संवैधानिक निकायमा समेत ओलीले माधव समूहका एक जनालाई पनि नियुक्ति दिएनन् । त्यसैले ‘पावर सेयरिङ’बारे ओलीको प्रस्ताव माधवले अस्वीकार मात्र गरेनन्, खारेज नै गरिदिए । दोस्रो अध्यक्ष एकताका लागि छलफल गर्न उपयुक्त प्रस्ताव नै होइन भने ।

माधव समूहले लामो समयदेखि पार्टीमा उठाउँदै आएको प्रश्न हो– विधि र पद्धति । अध्यक्ष ओलीले पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै माओवादीसँग एकता नहुँदैदेखि माधव समूहले विरोध गर्दै आएको थियो । ओलीले दोस्रो अध्यक्ष प्रस्ताव गर्दा पनि माधवले पार्टी विधानकै कुरा उठाए । ओलीले अध्यक्ष प्रस्ताव गरेपछि माधवले भने– ‘हाम्रो पार्टीको विधानले दुई अध्यक्षको व्यवस्था गरेको छैन । त्यसैले यो अवैधानिक हो । विधान विपरीत हुने कुनै पनि विषयमा सहमत हुन सकिँदैन । पार्टी एक भएर विधान संशोधन गरे बेग्लै कुरा हो । नत्र अवैधानिक गतिविधिका लागि तयार हुन सक्दिन ।’

नेपाल अब निर्णायक मोडमा पुगेका छन् । उनले सोमबारको बैठकमा ‘एक हप्ता’ भनेका छन् । ‘पावर सेयरिङ’मा बराबरको अवस्था बन्यो भने एक हुने सम्भावना हुन्छ । त्यो भन्दा अरू विकल्प छैन । त्यसका लागि ओलीलाई ‘एक हप्ताको समय’ भनेका हुन् ।

पछिल्लो समय माधवले पार्टीका सबै निर्णय प्रकृयामा आफ्नो हस्ताक्षर अनिवार्य हुनुपर्ने शर्त अघि सारेका छन् । त्यो विन्दुबाट एकताका लागि पहल गर्न सकिन्छ भन्ने उनको धारणा हो । तर, ओली त्यसका लागि तयार देखिएनन् ।

बारम्बार माधव बाहेक मात्र एकता गर्ने भन्दै आएका छन् । त्यसैले माधव अब यसरी नै अलमल गरेर नबस्ने मुडमा पुगेका छन् । बुधबार आफ्ना समूहका २२ सांसदले समेत यसरी अलमलमा नबसौं भनेपछि माधव ‘बोल्ड डिसिजन’को अवस्थामा पुगेका हुन् ।