पार्टी फुट्न नदिन प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्दै प्रचण्ड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पार्टी फुट्न नदिन प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्दै प्रचण्ड



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक छलफल गर्दैछन् ।

ओलीले पार्टी निर्णय अस्वीकार गर्दै पार्टी विभाजनको तयारी गरेपछि प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसहित नेताहरुको टिमले प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्न लागेको बताइएको छ । प्रधानमन्त्री ओलीसँग पार्टीको अवज्ञा किन गरिएको, बैठकबाट किन भागेको र लुकिछिपी संसदको बैठक किन स्थगन गरेको भनेर जवाफ मागिने प्रचण्ड नेपाल समूहको तयारी छ । तर त्यसको समय भने तय भइसकेको छैन ।

प्रधानमन्त्री ओलीले समय दिने निदने पनि निश्चित छैन । शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्नुअघि पार्टी एकता जोगाउन नेताहरुको दौडधुप चलिरहेको छ । पार्टी निर्णय विपिरत ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै पनि हालतमा नछाड्ने, बरु पार्टी फुटाउने रणनीति लिएपछि एकता पूरा नहुँदै एकता प्रकृया धरापमा परेको छ ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने अप्रिय कदम चालेमा त्यसले नेकपा फुट मात्र हैन राजनीतिक व्यवस्था माथि नै प्रश्न उठाउनेहरुका लागि खेल्न मैदान मिल्ने छ । कुनै अप्रिय अवस्था आएमा नेकपा मात्र नभई सिंगो देश र जनताको पक्षमा धोका हुने, व्यवस्था माथि नै प्रश्न उठाउनेहरुले ठाँउ पाउने भएकाले प्रचण्डको प्रयास सकेसम्म सहमति गर्ने रहेको उनको सचिवालयको भनाई छ ।

प्रधानमन्त्री ओलीले एकात्मक ढंगबाट सत्ता सञ्चालन गरेपछि नेकपाका विवाद हुँदै आएको छ । चुनावी घोषणा पत्र अनुसार काम हुन नसकेको, जनताको दैनिक जनजिवीकाका सवालमा सरकार विमुख भएको र समाजवाद उन्मुख राज्य प्रणाली स्थापित गर्ने बाटोमा सरकार विमुख भएको पार्टी नेताहरको आरोप छ ।

तत्कालीन एमालेका अधिकांश नेताहरु नै प्रधानमन्त्री ओलीको विपक्षमा उभिएका छन् । प्रधानमन्त्रीको कार्यशैली सुधारको अपेक्षासहित प्रचण्डले गत वर्ष पाँच वर्ष नै ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेका थिए । तर प्रधानमन्त्री ओलीको सल्लाहकार समुहका कारण प्रचण्डलाई कार्यकारी अधिकार दिइएन भने एकोहोरो पेलानमा परेपछि माधव नेपालसहित पूर्व एमालेका अधिकांश नेता प्रचण्डको पक्षमा देखिएका हुन् ।

आजको वार्तामा अधिकतम लचक भएर प्रस्तुत हुने र सहमतिका लागि प्रधानमन्त्रीलाई पनि लचक हुन् आग्रह गरिने नेता नेपाल निकट नेताहरुले बताएका छन् ।