न्यूयोर्कको ‘कूल ड्यूड’ र टोकियोको ‘दुःखी आत्मा’ ! « Himal Post | Online News Revolution
Logo

न्यूयोर्कको ‘कूल ड्यूड’ र टोकियोको ‘दुःखी आत्मा’ !



प्रिय काठमाडौँ ,

अघिल्लो अङ्कमा मैले तिमीलाई सम्बोधन गरेर  ‘म टोकियोमा अचम्म परिरहन्छु’ भन्ने शीर्षकमा लेखेको थिएँ । त्यो पत्र भित्र जापानी जनताका परिश्रम,अनुशासन र राष्ट्रप्रतिका प्रतिबद्धताका कुरा थिए । त्याहाँ भित्र जापानको चुस्त ‘सिस्टम’,’रूल अफ ल’ र अचम्मलाग्दा आर्थिक र भौतिक विकासका कुरा थिए । तिनै कुरा देखेर म अचम्म परेको कुरा नलुकाई,नढांटी मैले मेरा प्रिय पाठक सामु राखेको थिएँ, ता कि सबै नेपालीको मनमा जापानी जस्तै हुने र नेपाललाई जापान जस्तै बनाउने हुटहुटी पैदा होस । लेख पढे पछि आएका क्रिया-प्रतिक्रिया र सल्लाह-सुझाव देखेपछि म मेरो लेखकीय उद्देश्यमा केही हद सम्म सफल भएको पाएँ । हौसला दिइएका प्रशंसाका प्रतिक्रिया धेरै आए । तिनै थुप्रै प्रतिक्रिया माँझमा एउटा प्रतिक्रिया चाहिँ अङ्ग्रेजीमा लेखिएको थियो,”डिप्रेस्ड राइटर”!

म बामे सर्दै गरेको लेखक, प्रतिक्रियाले आत्तिनु र मात्तिनु हुन्न भन्ने मैले बुझेको छु । म त बरु प्रतिक्रियालाई अध्ययन गर्न मन पराउँछु । प्रतिक्रियाको अन्तर्य सम्म पुग्न मन पराउँछु र त्यसबाट पनि समाजको लागि केही शिक्षा निस्किन्छ कि भनेर घोत्लिन मन पराउँछु । किनकि प्रतिक्रिया दिने मान्छे पनि हाम्रै समाजको एक सदस्य हो,निजको पनि कुनै वस्तु,घटना वा प्रस्तुति प्रतिको आफ्नो धारणा हुन्छ । धारणाहरुको मन्थन बाट नै परिस्कृत समाज निर्माण हुने हो ।

उक्त प्रतिक्रिया पढे पछि मैले ‘डिक्सनरी’को पाना पल्टाएर ‘डिप्रेस्ड’ शब्दको अर्थ खोजें । यसको अर्थ दुःखी,असंतुष्ट र कमजोर भन्ने हुँदो रहेछ । तत्काल सो आलेखको शब्द शब्द केलाएर आफै पढ़ें,तर अहं, मैले आफूलाई कुनै कोणबाट पनि ‘डिप्रेस्ड’ पाइन । बरु म त जापान देखेर उद्वेलित भएर आफ्नो देश छिट्टै जापान जस्तै बन्नेछ भनी भित्र भित्रै आसाका सुनौला किरणपुंजलाई विकासको सुन्दर क्षितिजमा उदाउँदै गरेको देखेर लेखेको पो पाएँ उक्त लेख ! अनि फेरि प्रतिक्रिया दिने मान्छेको खोजतलासी गरेँ । फेसबुकले अमेरिकाको न्यु योर्क सहरमा बस्ने अंदाजी २७/२८ को युवा देखायो । उनको प्रोफाइल पुरै हेरेँ,उनी चाहिँ आफ्ना प्रस्तुतिहरुमा ‘डिप्रेस्ड’ कहीँ कतै लागेनन,’जस्ट चिल्ड’ लागे । उनको ‘टाइमलाइन’मा न्यु योर्क सहरको उनको ठांटिलो जीवनशैली बाहेक नेपाली समाजलाई सन्देश दिने सामाजिक उत्तरदायित्वका कुनै प्रस्तुतिहरु पनि भेटिएनन । तब मलाई ‘क्लिअर’ भयो,उनले मलाई किन ‘डिप्रेस्ड’ देखे ।

प्रिय काठमाडौँ,
हामी युवाहरू विश्वभर विभिन्न देशमा छरिएर रहेका छौँ । देशका अफ्टेरालाई अहिले तपशिलमा राखौं,यहाँ चर्चा नगरौं । भारत र खाडीमा जाने बाहेक अन्य देशमा जाने हामी युवा पलाएन हुनुको ख़ास कारण नढांटी भन्ने हो भने केही बढ़ी र सुरक्षित आर्थिक उपार्जन तथा परिवारको सुविधा अनि खुसी नै हो । केहीले अध्ययन पनि एउटा कारण हो भनेर दाबी गर्छन्,त्यो पनि हो । तर अध्ययन सिध्याए पछि पनि विदेशकै ‘पी आर’ र ‘ग्रीन कार्ड’ हात पारेर बसेका वा बस्न चाहेका उनीहरूको तर्कमा दम पनि छैन । यहाँ नेर मैले चर्चा गर्न चाहेको कुरा चाहिँ समृद्ध देशमा बसेर अध्ययन,व्यवसाय वा श्रम गरिरहेक़ा युवाहरूको देश र समाज प्रतिको उत्तरदायित्वको हो ।

हो, सब जना सबै थोकमा अब्बल हुँदैनन,कोही के मा त कोही के मा,हामी नेपाली विश्वकै ‘ट्यालेन्ट’ मानिसहरू मध्येमा पर्छौं जस्तो लाग्छ । तर दुःखको साथ भन्नुपर्छ,हामीमा चिन्तन सकारात्मक छैन । चाहे हामी जुन देशमा बसौं,चाहे हामीले जुन देशको बारेमा अध्ययन गरौँ,चाहे जुन समाजका भोगाइहरुलाई हृदयमा समेटौं,हामीमा चिन्तन ख़राब छ र सोंच नकारात्मक छ भने हामी टोकियो,न्यु योर्क,सिड्नी वा लंडन पुग्नुमा र देशकै कतै कुनामा छाउपड़ी,कमलरी,कमैया र जमिनदारी प्रथा निभाएर बस्नुमा कुनै फरक रहन्न ।

म अनुमान लगाउँछु,न्यु योर्क सहर टोकियो भन्दा पनि भव्य होला ! त्याहाँ पनि अनेकन चिज होलान्,जसले एउटा नेपालीलाई अचम्म पार्न सक़्लान । त्याहाँ पनि समृद्धि,अनुशासन र सिस्टम होला जसको कसैले वर्णन गरी कसैले लेख्यो भने त्यो सन्देश कैयौँ नेपाली सम्म पुग्ला र नेपाल पनि अमेरिका जस्तै बनोस भन्ने हुटहुटी नेपालीको मनमा पैदा होला । अथवा त्याहाँ त्यस्तो अनौठो केही नहोला,जे देखेर एउटा नेपाली अचम्म परोस । नेपालमै हुँदा आफ्नो बाबा आमाको कमाइमा घरमै अमेरिकी जीवन शैली भोगेका ‘कुल ड्यूडहरु’ हजारौँ होलान् त्याहाँ, जो यी समृद्धि र प्रगतिका कुराले अचम्म पर्दैनन अनि सजिलै भन्छन्,”चिल आउट ब्रो,इट्स नर्मल ! डन्ट गो डिप्रेस्ड!” । टोकियोमा पनि त्यस्ता अशंख्य ‘कुल डयूडहरु’ नभएका कहाँ हुन र प्रिय काठमाडौँ ? धेरै छन् । तिम्रो छातीमाथि पनि त धेरै बस्छन नि त्यस्ता ‘कुल डयूडहरु’ जसले अलिकति देश र समाजको चिन्तन गर्नेलाई सजिलै ‘दुःखी आत्मा’ भनिदिन्छन । न्यु योर्क निवासी ‘कुल ड्यूड’ ले टोकियो निवासी ‘डिप्रेस्ड राईटर’ लाई सरासर दुखी आत्मा नै भन्न खोजेको हो भन्ने कुरामा शङ्का रहेन,काठमाडौँ !
तर थाहा छ प्रिय काठमाडौँ ? मलाई ‘ड्यूड’ ले दुःखी आत्मा भन्यो भनेर कत्ति पनि नरमाइलो लागेको छैन । बरु खुसी लागेको छ,कम्तीमा म त अलिकति पिर लिंदो रैछु देश अनि समाजको ।

उच्च शिक्षा अध्ययनको लागि प्रायः नेपालीले रोज्ने आस्ट्रेलिया,अमेरिका र यूरोप हुन । जापान त्यसपछि बल्ल आउँछ । उच्च शिक्षाको लागि बिदेशिनेहरु अधिकांश ट्यालेंट वर्गकै हुन्छन्,जो सँग विभिन्न दक्षता हुन्छ । चाहे भने ती दक्षता मार्फ़त उनीहरूले देशलाई विदेशमा चिनाउन सक्छन् अनि विदेशको दृश्यलाई देशमा देखाइदिन र समृद्धिको लागि देशबासीमा प्रेरणा जगाउन सक्छन् । केही मित्रहरुले विदेशमा बसेर अनवरत यी काम गरिरहेका छन्,उनीहरू प्रति सम्मानले शिर झुक्छ सधैँ । तर अधिकांश ‘डिस्टिंसन र फ़र्स्ट डिभिजन होल्डरहरु’ सिड्नी,न्यु योर्क,लंडन र टोकियोका गल्लीहरुमा गुमनाम छन् । कहिले काहिं कमेण्टमा झुल्किन्छन र भन्छन्,’तँ त क्या दुःखी आत्मा’ !

होला, उनीहरूले ‘पी आर’ पाए,’ग्रीन कार्ड’ हात पारे,परिवारको सुख सुविधाका सबै व्यवस्था मिलाए । उनीहरू सक्षम सन्तान हुन आफ्नो परिवारजनको लागि भन्ने कुरामा कुनै शङ्का रहेन । तर उनीहरुमध्ये अधिकांश सामाजिक र राष्ट्रिय दायित्वप्रति चुकेका छन् । नसकेर होइन,नचाहेर । अनि तिनै नचाहनेले चाहनेलाई ‘दुःखी आत्मा’ देख्छन,काठमाडौँ ! हेर त विडम्बना !

खोज्यो भने अमेरिका,यूरोप,अस्ट्रेलिया र जापानको बारेमा गुगलले पनि बताउँछ । तर एक नेपालीले आफ्नो भोगाई समेटेरे लेख्यो,देख्यो र सुनायो भने पक्कै फरक पर्छ भनेर आफ्नो कलाको उपयोग गर्ने गर्छु टोकियोको दुःखी आत्मा मैले पनि । मेरो आफ्नो नियमित काम छ,राम्रै पैसा आउँछ । आनन्द सँग कानमा तेल हालेर बसे पनि ‘कुल डयूड’ बनेरै मेरो एउटा जिन्दगी मजाले चल्छ । यहाँ पनि पब,क्याफ़े,डिस्को,नेपाली रोधी,गजल साँझ,फ़न साइट र सी-बिचहरु छन् । त्यता गएर हाईसन्चो गरे पनि पुग्ने हो । तर म दुःखी आत्मा नै बन्न मन पराउँछु टोकियोमा ।

“प्रिय न्यु योर्क निवासी कुल ड्यूड,तिमी अमेरिका नबसेर नेपालकै कुनै कुनामा छाउपड़ी,कमलरी र मुखिया प्रथामा रमाएको भए,तिमी उतैको जमिंदारी,दलाली,चाकड़ि र चाप्लुसीमा रमाएको भए म यति लामो प्रतिक्रियात्मक पत्र लेख्दैनथें सायद । तिमी त विश्वकै संभ्रांत र शक्तिशाली देशको ठुलो सहरमा बस्दा रैछौ । तिमीबाट फराकिलो सोंचको अपेक्षा हुन्छ जसलाई पनि । तर तिम्रो सोंच किन त्यति कमजोर र सांघूरो ? तिम्रो प्रतिक्रियाले म आत्तिएको भन्ने नठान्नु,म त तिमीलाई रंगीन विदेशको ह्यंगओभर बाट बाहिर निकाल्ने प्रयत्न गर्दैछु । सायद तिमीलाई व्यक्तिगत जीवनको लागि सबथोक पुगेको छ । मलाई पनि व्यक्तिगत जीवनको लागि अपुग केही छैन । तर पनि म दुःखी आत्मा बन्न रुचाउँछु । थाहा छ किन ? किनकि म तिम्रा-मेरा सन्तानहरु भोलि ‘दुःखी आत्मा’ नबनेर हाम्रो देश नेपाल भित्रै ‘कुल ड्यूड’ बनून भन्ने चाहन्छु, न्यु योर्क वा टोकियोमा हैन ।
हो,मलाई छटपटी हुन्छ,बेचैनी हुन्छ, मेरो देश सिस्टममा जाओस र छिट्टै जापान अमेरिका जस्तो बनोस भन्ने हुटहुटी पैदा हुन्छ भित्र भित्रै । तिमीले मेरो त्यो सदीक्षालाई ‘डिप्रेसन’ देख्यौ त मेरो के लाग्छ ? ‘डिप्रेस्ड’ बरु कहीँ कतै तिमी रहेछौ कि जस्तो अनुभूति भयो मलाई ,’जो देश जाए भाडमें’ भन्दै परदेशमै ‘कुल ड्यूड’ बनिरहेको छ,छोराछोरीलाई परदेशमै ‘कुल डयूड’ बनाउन चाहिरहेको छ । देश बिर्सेको छ तर आफू खुसी छु भन्ने भ्रममा बांचिरहेको छ । मान या नमान ‘ड्यूड’,देश बिर्सेर कोही खुसी हुनै सक्दैन” ।

प्रिय काठमाडौँ, एक जना न्यु योर्क निवासी ‘कुल ड्यूड’ लाई मात्र आधार बनाएर लेखिएको पत्र होइन यो । ती अशंख्य ‘डिस्टिंसन र फ़र्स्ट डिभिजन होल्डर’ हरू,जो अमेरिका,बेलायत,अस्ट्रेलिया र जापानमा या त चाहेरै गुमनाम छन्,या सतहमा आउन नसकेरै हराइरहेक़ा छन्, म तिनलाई तैर्याउन चाहन्छु देशप्रेमको तरङ्गमा । कतिलाई मेरा यी प्रतिक्रियात्मक शब्द तिता पनि लाग्लान,म तितो औषधि पिलाएरै उनीहरूको निद्रा र आलस्यता भगाउन चाहन्छु । कम्तीमा जसले जे जानेको छ,त्यही गरोस तर देश र समाजको हितको लागि गरोस,पेट त चरा मूसाले पनि पाल्छन । झिलिमिली सहरमा रहेर पनि अँध्यारो कुनामा बसेर केही समाजको लागि बोल्ने,लेख्नेहरुलाई दुःखी आत्मा देख्ने कालो चस्मा कम्तीमा देशबिदेश भोगेको ‘ट्यालेंट’ दिमागवालाले नलगाओस । अहिलेलाई यत्ति कामना गरेँ । अर्को पत्रमा भेटौंला ।
तिम्रो अनुरागी,हेमन्त गिरी…….टोकियोबाट ।

[email protected]