५० लाख माग्दा आलेले वास्ता नगरेपछि सार्वजनिक गरियो अडियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

५० लाख माग्दा आलेले वास्ता नगरेपछि सार्वजनिक गरियो अडियो



सामाजिक सञ्जालमा हिजो रातिदेखि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले भारतमा रहेका जगत ओली नामका एक व्यक्तिलाई अश्लील शब्द प्रयोग गरेर गाली गरेको अडियो भाइरल बनेको छ ।

अडियोमा आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर आलेले गालिगलौजमा गरेका छन् । अडियोमा सुनिएअनुसार उनले ती नेपालीलाई अपहरण गर्ने सम्मको धम्की दिएका छन् ।

तर करीब एक वर्षअघि भएको उक्त संवादलाई ओलीले बार्गेनिङको टूल बनाएको खुल्ने एक स्क्रीनसट पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत बाहिरिएको छ ।

Dr Baba A’neal Che नामको युजर आइडी भएका एक व्यक्तिले ट्वीटरमा ओलीले आलेसँग बार्गेनिङ गरेको म्यासेजको स्क्रीन सट पोस्ट गरेका छन् ।

उनले नेपाल प्रहरीलाई मेन्सन गर्दै भनेका छन्, ‘ ए @NepalPoliceHQ मन्त्री आलेको अडियो सार्वजनिक गर्ने मान्छेले यो सम्म गरेको रहेछ । स्रोतले यो स्क्रिनसट पठायो । लु अब तु का तु मान्छे झिकाउ । यसरी ब्ल्याकमेल गर्न पाइन्न । नेपालमा कानुन छ भन्ने देखाउ ।’

त्यस्तै सार्वजनिक भएको अर्को स्क्रीन सटमा आलेले ओलीलाई पटक-पटक भिडियो कल गरेको देखिन्छ । जवाफमा ओलीले ‘केही थियो कि ‘ भनेका छन् । त्यसपछि ओलीले एकपटक ६ सेकेन्ड जवाफी कल गरेका छन् भने अर्को पटक २ मिनेट ४० सेकेन्ड कल गरेका छन् ।

कलपछि ओलीले आलेलाई ‘हेर्दै जा’ भनेर धम्कीपूर्ण म्यासेजसमेत गरेका छन् ।

आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले समेत आपत्ति जनाएको छ।

निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन्।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरिएको छ।

नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ। पूर्व पार्टीका कार्यकर्ता भन्दै एमालेका कार्यकर्ताहरू लागिरहेको सचिवालयले बताएको छ ।