पार्टी फुटाउँछु भनेपछि आफ्नैले छोडे ओलीको साथ् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पार्टी फुटाउँछु भनेपछि आफ्नैले छोडे ओलीको साथ्



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको चरम विवादले नयाँ रुप लिएको छ । मिलाउने प्रयासमा दुई अध्यक्ष बारम्बार बैठक बसिरहेका छन् । तर अझैसम्म गाँठो भने फुकेको छैन ।

पार्टी फुटाएर अलग्गै सरकार बनाउने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो २ दिन केहि मथ्थर देखिएका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि लगातार पाँचौ बैठक बसेको हो । पाँच बैठक मध्य पछिल्ला बैठकमा ओलीले प्रचण्डका कुरा सुन्न थालेका छन् ।

जारी स्थायी कमिटीको बैठक स्थगित गरेर विवाद मिलाउन र पार्टीलाई फुटबाट बचाउन भन्दै गरिएका प्रयासमा आशा थपिएपनि विवाद मिल्छ नै भन्ने निष्कर्ष भने निस्किएको छैन । बैठक स्थगित गरेर गरिएको अध्यक्षद्धयबीचको छलफल सुधारोन्मुख भएपनि विवाद एकाएक मिल्ने भने देखिन्न ।

मन्त्रिपरिषद्का सदस्यहरूलाई बोलाएर कित्ताकाट गरेर आउन लगाएका प्रधानमन्त्री ओली त्यसपछि भने आक्रामक रूपमा देखिएका छैनन् । स्रोतका अनुसार पार्टी फुटाएर कांग्रेससंग मिलेर सरकार बनाउने पुरै तयारी गरेका प्रधानमन्त्री ओलीलाई पछिल्लो समय झट्का लागेको छ । पार्टी फुटाएर पनि आफ्नै पार्टीका सांसदले साथ् नदिने भएपछि उनि लचिलो देखिएको स्रोतको दाबी छ ।

त्यतिमात्र होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई सरकारमा साथ् दिने बचन दिएका थिए । कांग्रेसमा यो सम्झौता लिक भएपछि देउवा नै तनावमा परेका छन् । पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताहरूले सरकारमा नजान दवाव दिएपछि देउवा अल्पमतमा परेका छन् । पार्टीको बैठकमा नेताहरूले र्याखर्याख्ती पारेपछि देउवा यो सम्झौताबाट पछी हट्न बाध्य भएका थिए ।

कांग्रेसले पनि साथ् दिन नसक्ने र अन्य आफ्नै दलका नजिकका भनिएका नेता र सांसदले पनि प्रधानमन्त्री ओलीलाई साथ् नदिने भएपछि प्रधानमन्त्री ओली अहिले बिलखबन्दमा परेका छन् । ओलीले पार्टी फुटाउन सबै तयारी गरेको खुलेपछि उनी निकटकै केहि नेताले यस्तो भएको खण्डमा आफूहरूले पनि साथ् नदिने बताएपछि उनि ब्याक हुन बाध्य भएको स्रोत दाबी गर्छ ।

प्रधानमन्त्री ओलीका पछिल्ला क्रियाकलाप अहिले आफैलाई निकै भारी भैरहेका छन् । बिरोधीहरुलाई तह लगाउने उनको विकल्प स्थायी कमिटीले नै समाप्त गरिदिएको छ । जारी संसद अधिवेशन अन्त्यको हठात् निर्णय पनि उनलाई घाँटीको हाड बन्ने देखिएको छ। तत्काल पार्टी फुटाएर सरकार बनाउने विकल्प पनि आफ्नै अत्यन्त नजिकका नेताहरूले साथ् नदिने भएपछि समाप्त जस्तै बनेको छ । त्यसैमाथि कांग्रेसले साथ् नदिने संकेत गरिसकेको छ ।

यी सबै विकल्प समाप्त भएपछि उनकालागि तातो दुध निल्नु न ओकल्नु जस्तै बनेको छ । पछिल्ला बैठकहरूमा उनले एउटा मात्रै पद बचाएर भएपनि ‘सेफ ल्यान्डिङ’ गर्न चाहेको उनकै निकट नेताहरू बताउने गरेका छन् । प्रचण्डलाई फकाएर भएपनि उनि एउटा पद जोगाउन तिर लाग्ने विश्लेषकहरूले बताउने गरेका छन ।

आफुलाई हटाउन भारत र आफ्नै पार्टीका नेताहरू लागेको अभिव्यक्ति दिएर विषयान्तर गर्न खोजेका उनलाई यहि अभिव्यक्तिले थला पार्ने देखिएको छ । त्यसमाथि उनले लगाएको राष्ट्रपतिमाथिको महाभियोग प्रकरण त उनको कद घटाउने कडी बन्नसक्ने देखिन्छ ।

ओली निकट एक सांसदले ओलीले जे गर्छन त्यसमा सती जान नसकिने बताउँछन । उनले पार्टीलाई नै नमान्ने मान्छेको साथमा अर्को पार्टीमा गएपनि हालत यहि हुने बताए । त्यस्तै उनलाई अत्यन्तै नजिकबाट साथ् दिएका दोश्रो तहकै नेताले पनि प्रधानमन्त्री ओलीले पार्टी फुटाएको खण्डमा नेपाल समुहलाई साथ् दिने बचन दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले आंकलन गरेभन्दा ठ्याक्कै उल्टो माहोल पार्टीमा बनेको एक स्थायी कमिटि सदस्य बताउँछन । पार्टी फुटाउन तयार भएका ओलीलाई पार्टीका तल देखि माथिसम्मका नेताहरूले त्यस्तो निर्णय नगर्न चेतावनी दिएका छन् । पार्टी फुटाइहाले पनि उनीहरूले साथ् दिन नसक्ने यो प्रष्ट संकेत हो ।

हाल अर्का अध्यक्ष प्रचण्डसंग एउटा पद छाडेर केहि नयाँ सहमति गरेरै भएपनि विवाद साम्य पार्ने लाइनमा उनि रहेको देखिन्छ । सुरुका दिनमा हुल्लडहरूको झुण्डसंग बस्न नसक्ने बताइरहेका प्रधानमन्त्री ओली तिनै हुल्लडहरुसंग सम्झौता गरेर अगाडी बढ्न चाहनु उनि गलेको प्रष्ट संकेत हो ।

पद छाड्ने उपयुक्त समय यहि भएको सल्लाह

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले धेरै क्षेत्रका व्यक्तिहरूसंग सल्लाह सुझाव लिइरहेका छन् । उक्त छलफलमा केहिले ओलीलाई एक पद छाड्न आग्रह गरेका छन् । यदि ओलीले यहि बेला पद छाड्ने हो भने पार्टी विभाजनबाट बचाउन गरिएको त्याग पनि मानिनेछ । अझ बढी ओलीका लागि प्रधानमन्त्री पद त्याग्ने नै हो भने अहिले नै उपयुक्त समय भएको कहिले सुझाव दिएका छन् ।

कोरोना महामारी र उनका नजिकका मानिसहरूको कारणले ओलीले सबै कार्यकाल प्रधानमन्त्री आफै चलाएपनि खासै उल्लेखनीय केहि गर्नसक्ने देखिन्न । कर्मचारी देखि मन्त्रीहरूले नै उनलाई तेरना छाडिसकेको अवस्था छ । विभिन्न निर्णयमा पार्टीलाई बायस गरेको आरोप लागिरहेको छ । अबका दिनमा सरकार चलाएपनि केहि नेताहरूको कुरा सुन्नैपर्ने र उनीहरूको फेभरमा काम गर्नुपर्ने निश्चित छ । अहिलेका एकाध बाहेक सबैजसो मन्त्री परिवर्तन नगरे काम हुँदैन भन्ने स्वयं ओलीले बुझिसकेका छन् । अब मन्त्रीहरू परिवर्तन गरेपनि एक वर्ष उनीहरूले सिक्नै समय लाग्छ ।

अब जति सरकारमा बसे पनि धेरै ठूला काम गर्न सक्ने अवस्था छैन । कोरोना भाइरसकै संक्रमण र यसले आर्थिक तथा मानवीय क्षेत्रमा पार्ने असर अझ भयावह हुँदै जाने देखिन्छ । त्यसबेला सरकार थप विवादित र बदनाम हुने पनि पक्का छ ।

भारतले मिचेको भूमी लिपुलेक फिर्ता ल्याउन पार्टी र विपक्षीबाट तिब्र दवाव आउने पक्का छ । देशको आर्थिक अवस्था टाट पल्टिसकेको छ । पार्टी र सरकारको सिस्टम प्रधानमन्त्री स्वयंले ध्वस्त बनाइसकेका छन् । उनका निकटकाहरू हात थाप्नेहरू मात्र छन् ।

यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले सरकारमा रहेरै पनि गर्नसक्ने खासै काम केहि छैन । प्रचण्डसँग ओलीले आलोपालो गर्ने सहमति र पार्टी एकता बचाउने यो उत्तम समय हो । त्यसैमाथि अहिले छाड्दा ओलीले काम गर्न नसकेको धब्बा पनि लाग्दैन । ओलीले अहिले राजीनामा दिँदा उनलाई व्यक्तिगतरुपमा फाइदा नै हुनेछ र ओह्रालो लागिरहेको लोकप्रियताको ग्राफ पुनः माथि उठ्न सक्ने पनि अनुमान गर्न सकिन्छ ।