ओलीमाथि थप सङ्कट: अर्का विश्वासपात्र माथि पनि गम्भीर मुद्दा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीमाथि थप सङ्कट: अर्का विश्वासपात्र माथि पनि गम्भीर मुद्दा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका विश्वासपात्रहरु एकपछि अर्को गरेर विवादमा मुछिन थालेका छन् ।

केही समयअघिमात्रै ७० करोडको कमिशन डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्रीबाट ओलीको विश्वासपात्र गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिए ।

त्यसको एक साता नबित्दै अर्का विश्वासिला पात्र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि मुद्दा परेको छ । मुख्यमन्त्री राईमाथि अंश मुद्दा दायर भएपछि राजनीतिक माहोल तातिएको छ ।

शुक्रबार दिउँसो काठमाडौं जिल्ला अदालतमा एउटा मुद्दा दायर भएको छ । त्यो अंश मुद्दा हो जसमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई विपक्षी बनाइएको छ ।

बालिका खड्का नाम गरेकी महिलाले शेरधन राईलाई पति दाबी गर्दै मुद्दा दायर गरेकी हुन् । राईले आफूसँग विवाह गरेको दाबी गर्दै घरेलु हिंसाको अभियोग समेत लगाएकी छिन् । खड्काले आफूले अंश पाउनुपर्ने उल्लेख गरेकी छिन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ मानिएकाहरु एकपछि अर्को विवादमा आइरहँदा राईमाथि मुद्दा दायर हुनुलाई अर्थपूर्ण मानिएको छ ।

योसँगै राईलाई तत्काल पदबाट राजीनामा दिनपनि पार्टीभित्रैबाट आवाज उठेको छ ।

स्रोतकाअनुसार नेकपाभित्रपनि पूर्व एमाले खेमाकै नेताहरु भीम आचार्य र कृपाशुर शेर्पाहरुले आरोप लागेर मुद्दा दर्ता भैसकेपछि राईले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठाएका छन् ।