'सरकार र पार्टी तपाईंहरू नै चलाउनुस, म पाँचै वर्ष प्रधानमन्त्री बन्छु' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘सरकार र पार्टी तपाईंहरू नै चलाउनुस, म पाँचै वर्ष प्रधानमन्त्री बन्छु’



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र चुलिएको विवाद समाधान उन्मुख देखिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसामु पार्टीको विवाद समाधानका लागि अलग अलग प्याकेजमा प्रस्ताव गरेको खुलेको छ ।

लामो संवादहिनताको अवस्था तोड्दै बिहिबार बसेको दुई अध्यक्षबिचको छलफलमा प्रधानमन्त्री ओलीले निकै धेरै प्याकेजका विकल्प देखाएर प्रस्ताव गरेको स्रोतले जनाएको छ । यसरी गरिएका विभिन्न प्याकेजमा पार्टी अध्यक्ष र प्रधानमन्त्री पद भने नछाड्ने अडान कायम नै छ ।

पार्टीको अध्यक्ष र पाँचै वर्ष प्रधानमन्त्रीको पद छाडिदिन आग्रह गर्दै ओलीले त्यसको बदलामा सरकार संचालन र पार्टीभित्रका सबै गतिविधिमा छलफल र सामुहिक निर्णय गर्न सकिने प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रस्तावमा ओलीले सरकारका हरेक निर्णयहरु सचिवालयबाट अनुमोदन गराउने प्रस्ताव राखेका छन्।

‘पार्टी विभाजन हुन नदिन र विवाद मिलाउनका लागि प्रधानमन्त्रीज्युले निकै लचकता अपनाएर यस्तो प्रस्ताव गर्नुभएको छ । यसले निकास निस्किने विस्वास पनि गरिएको छ । खासगरी प्रचण्ड-नेपाल समुहले पनि पार्टी र सरकारमा एकलौटी गरेको आरोप लगाउदै राजिनामा माग्नुभएको हो, त्यो समस्या समाधानका लागि यो उपयुक्त बाटो पनि हो ।’ स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउने एजेन्डा त्याग्न र मिलेर काम गर्न समेत अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुवै पदबाट हटाउने अडान छाड्नेहो भने प्रचण्ड-नेपाल समुहले ल्याएका हरेक प्रस्ताव स्वीकार्ने समेत बताएका छन् ।

‘पार्टी र सरकार तपाईंहरू नै चलाउनुस, म पाँच वर्ष प्रधानमन्त्री बन्छु ।’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई राखेको प्रस्ताव उद्घृत गर्दै स्रोतले हिमालपोष्टलाई बतायो ।

त्यस्तै, प्रधानमन्त्री ओलीले केन्द्र र प्रदेश दुवैको मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पनि राखेका छन्। ओलीले पार्टी सञ्चालनको सबैजसो अधिकार पनि प्रचण्डलाई दिने वाचा गरेका छन्।

विवाद समाधानका लागि प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव आएपछि प्रचण्ड- नेपाल समुहका केहि नेताहरू सो प्रस्तावमाथि छलफलका लागि जुटेको बताइएको छ । छलफलमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि सहभागी छन्।