टोपी दिवसले नेपालीहरू बिचको भावनात्मक सम्बन्धलाई प्रगाढ गराएको छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

टोपी दिवसले नेपालीहरू बिचको भावनात्मक सम्बन्धलाई प्रगाढ गराएको छ



कर्ण बहादुर अधिकारी,१७ पुष
जनवरी १ तारिक अङ्ग्रेजी नयाँ वर्षलाई नै लक्षित गरी बिदेशीएका नेपालीहरूले मनाउन सुरुवात गरेको टोपी दिवस अहिले निकै नै चर्चित बन्दै गई रहेको छ।विगत ४ वर्ष देखि सुरुवात गरेको यो दिवस यसपालि पनि नेपालीको पहिचान शिरमा ढाका टोपी भन्ने माहान बाणीलाई आत्मसात गर्दै स्वदेश तथा विदेशमा भव्यताका साथ मनाए।

टोपी दिवस मनाउनु नेपाल र नेपालीको लागि गौरवको कुरा हो किनकि सगरमाथाको देश नेपाल,शान्तिका दुत भगवान् गौतम बुद्धको जन्म स्थल नेपाल र हामी नेपालीहरूको पहिचानमा नेपाली पोशाकको पनि त्यतिकै महत्त्व छ।नेपाल र नेपालीको पहिचान नेपाली टोपीले विश्व समुदायलाई नेपाल र नेपाली हो भनेर चिनाउन एउटा महत्त्वपूर्ण भूमिका निवारण गर्दै आई रहेको छ।हामीले पनि विश्व समुदाय माझ हामीले हाम्रो रीतिरीवाज,धर्म संस्कृति र पहिचानलाई चिनाउन सक्नु हाम्रो दायित्व भित्र पर्दछ।विगतमा नेपालको राष्ट्रिय पोशाकलाई केही सीमित व्यक्तिहरूका केही सीमित स्वार्थले गर्दा राष्ट्रिय पोशाकबाट नै हटाए।यस्तो गर्नु पक्कै पनि राम्रो थिएन।सबै राष्ट्रको आआफ्नै राष्ट्रिय पोशाक हुन्छ र हुनु पनि पर्दछ।राष्ट्रिय पोशाकले नै हो राष्ट्रलाई विश्व समुदाय माझ चिनाउने।त्यस कारण नेपालको राष्ट्रिय पोशाकलाई नेपालका नेता भनाउँदाहरूले हटाउनु पर्ने जरुरी थिएन।हिन्दु राष्ट्रको नामले परिचित नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरे, राष्ट्रिय पोशाक हटाए,राष्ट्रिय भाषा पनि हटाउने तरखरमा छन्।

जुन जुन व्यक्तित्वहरूले यो टोपी दिवस मनाउनु पर्छ भन्ने सोच राखेर सुरुवात गर्नु भो उहाँहरूलाई मेरो व्यक्तिगत र राष्ट्रको तर्फबाट नमन भन्न चाहन्छु।अब हामीहरूले यसलाई निरन्तरता दिएर यो दिवसलाई मनाउदै लैजानु पर्दछ।टोपी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरूले सामाजिक सञ्जालहरूमा नेपाली ढाका टोपी लगाएर सामाजिक सञ्जालहरूलाई नै रंगी बिरङ्गी बनाई दिए।आखिर किन र के का लागि भन्दा हामी सहजै जवाफ पाउछौ हामीले हाम्रो पहिचानलाई सुरक्षित वनाउनका लागि लगाएका हौ भनेर कुरा ठिकै पनि हो।

हामीहरूले एक दिन जनवरी १ मा मात्र ढाका टोपी लगाएर सामाजिक सञ्जालका भित्ताहरू रंग्याउदैमा पहिचान जोगिने पक्कै होइन। यदि सकिन्छ भने हामीले हाम्रो पहिचानलाई अन्तर आत्मा देखि नै स्वीकार गरी सदा सर्बदा टोपी लगाएर हिड्न सके अझै सुनमा सुगन्ध हुने थियो।त्यसैले तपाईँ हामी सम्पूर्ण नेपालीहरूले राष्ट्रिय पोशाकलाई जगेर्ना गरी निरन्तरता दिनु हाम्रो कर्तव्य पनि हो।यति मात्र होइन राष्ट्र भित्र पर्ने विभिन्न धर्म रिति रिवाज,संस्कृति र परम्परालाई पनि जगेर्ना गर्न सक्नु पर्द्छ।हामी नेपाली हौ हाम्रो पहिचान नेपाली हो हामीले जातीय पहिचान खोज्नु त्यति उपयुक्त नहोला।हामीले जातीयताले पहिचान गराउनु भन्दा पनि नेपाली भनेर पहिचान गराउदा राम्रो हुने थियो।टोपी दिवसले नेपाली नेपाली बिच भावनात्मक सम्बन्ध बढाउन प्रमुख भूमिका निबारण गरी दिएको छ।