प्रभु साहका विश्वासपत्र बने एमाले रौतहटको अध्यक्ष - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रभु साहका विश्वासपत्र बने एमाले रौतहटको अध्यक्ष



रौतहट- नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ। रौतहटको कटहरियामा भएको नवौँ एकता जिल्ला अधिवेशनले त्रिभुवन साहको अध्यक्षतामा सर्वसम्मत १३५ सदस्यीय नेकपा एमाले जिल्ला समिति रौतहट चयन गरेको छ। रौतहट एमाले उपाध्यक्षमा दीपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल निर्वाचित भएको फतुवा विजयपुर नगर अध्यक्ष विजय यादवले जानकारी गराएका छन्।

अधिवेशनले दिएको जिम्मेवारी पूरा गर्ने र पार्टीलाई एकताबद्ध बनाएर लग्ने नवनिर्वाचित अध्यक्ष त्रिभुवन साहले प्रतिबद्धता व्यक्त गरेका छन्। एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहका विश्वासपत्र त्रिभुवन साह गत स्थानीय तहको निर्वाचनमा बौद्धिमाई नगरपालिकाको मेयर पदमा नेकपा माओवादी पार्टीबाट उम्मेदवार बनेका थिए।

आगामी चुनावमा नेकपा एमालेको वर्चस्व कायम गर्न जनतामा काम गर्नुका साथै पार्टीका सबै तहका नेता, कार्यकर्तासित समन्वय गर्ने बताउँदै नवनिर्वाचित अध्यक्ष साहले पार्टीको लागि दिनरात परिश्रम गर्ने बताएका छन्।

यसैबीच नेकपा एमाले जिल्ला समिति रौतहटका अध्यक्ष भन्दै सामाजिक सञ्जलमा तुलसीराज गिरीले नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष मन्डलद्वारा घोषित एकलौटि लिज्जा कमिटि अवैध रहेको असन्तुष्टि जनाएका छन्। गिरीले अधिवेशनको हलले जिल्ला कमिटिलाई अनुमोदन नगरेको बताउँदै मंगलवार रौतहटको गरुडास्थित पार्टी कार्यालयमा प्रतिनिधि तथा पर्यवेक्षकलाई बोलाएका छन्।