माओवादी र नेकपा यसको निष्कर्ष- ओलीसँग सहकार्य सम्भव छैन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माओवादी र नेकपा यसको निष्कर्ष- ओलीसँग सहकार्य सम्भव छैन



काठमाडौं- आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा नआउँदै तीन ठूला कम्युनिस्ट पार्टी मिलेर साना मधेसवादीसहित अन्य दल मिलाएर सरकार बनाउने प्रयास भए पनि सम्भव देखिएको छैन ।

नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस मिलेर सरकार गठन प्रयास भए पनि माओवादी र एकीकृत समाजवादी ‘यथास्थितिमा त्यो सम्भव नभएको’ निष्कर्षमा पुगेका छन् ।

चुनावी परिणाम पूर्ण रूपमा नआउँदै गत ८ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत ‘आगामी दिन मिलेर अघि बढ्न’ प्रस्ताव गरे । प्र्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुभकामना साटासाट गरेका प्रचण्डले ‘आगामी दिन मिलेर जाने ओलीले प्रस्ताव गरे पनि’ ठोस जवाफ भने दिएनन् । ओलीले ‘तिक्तता बढ्दा धेरै टाढा पुगिएछ,’ भन्दै ‘अब मिलेर जाने’ प्रस्ताव गरेका थिए ।

ओली प्रधानमन्त्री रहेको बेला संविधानविपरीत दुई-दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि माओवादी र एकीकृत समाजवादी टाढिएका थिए । सोही कारण माओवादी र एकीकृत समाजवादीले ‘यथास्थिति’मा सहकार्य गर्ने पक्षमा देखिएका छैनन् ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ‘तत्काल वाम गठबन्धन सरकार बन्ने’ सम्भावना नरहेको बताएका छन् । मंगलबार एकीकृत समाजवादी सचिवालय बैठकपश्चात सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले थपे, ‘यथास्थितिमा त्यो सम्भावना छैन ।’

केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला संविधानविपरीत दुई-दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि टाढिएको माओवादी र एकीकृत समाजवादीले ‘ओलीले कमीकमजोरी आत्मसमीक्षा वा आत्मालोचना नगरेकाले अहिलेकै अवस्थामा एमालेसँग सहकार्य गर्न’ नसकिने प्रस्ट पारेका छन्

‘राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडि बढ्छ ?’ भन्ने सन्दर्भमा उनले ‘आफूहरूले गम्भीर चिन्तन तथा मनन गरेको’ सुनाए । ‘देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने हामीले गम्भीरतासाथ लिनुपर्छ,’ नेता नेपालले भने, ‘त्यसैले सतर्क हुनुपर्ने आवश्यकता महसुस ग-यौं । यस हिसाबमा सत्ता गठबन्धनका दलसँगको हाम्रो सहकार्य छ, त्यसलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने ठानेका छौं ।’

गठबन्धनका कारण प्राप्त उपलब्धि रक्षा गर्दै आगामी दिन पनि ‘गठबन्धनकै भावनाअनुसार काम गर्ने पार्टीको निष्कर्ष रहेको’ एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

‘आज जेजस्तो मतपरिणाम हामीले प्राप्त ग-यौं । यो मतपरिणाम सोचेजस्तो छैन,’ उनले भने, ‘तर त्यसो भन्दैमा गठबन्धन सँगसँगै लागेर गठबन्धनका कारण प्राप्त उपलब्धि रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने ठाउँमा यो निष्कर्षमा पुगेका छौं ।’ निर्वाचन समग्र समीक्षा भने सबै जिल्लाबाट रिपोर्ट आइसकेपछि आगामी बैठकमा गरिने उनले उल्लेख गरे ।

माओवादी केन्द्रसमेत पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने पक्षमा छ । पछिल्लोभन्दा यो निर्वाचनमा सोचेजस्तै मतपरिणाम नआए पनि माओवादी केन्द्रले सत्ता गठबन्धनलाई नै निरन्तरता दिने विषयलाई प्राथमिकतामा राखेको छ ।

माओवादी केन्द्र महासचिव देव गुरुङ एमाले अध्यक्ष ओली र एमालेले अहिलेसम्म गरेको कमीकमजोरी ‘आत्मसमीक्षा वा आत्मालोचना नगरेकैले अहिलेको अवस्थामा एमालेसँग सहकार्य नहुने’ अडान रहेको बताउँछन् ।

‘विचारको हिसाबले समग्र रूपमा एउटा आन्दोलनको हिसाबले भन्दा मिल्नुपर्ने निश्चित रूपमा हो । हामीले हेर्नुपर्दा डे टु डे को कुरा हेर्नुपर्छ । यसरी हेर्नुपर्दा जे– जस्तो मिस्टेक गर्नुभएको छ, केपीजीले करेक्सन नगर्दासम्म हुँदैन,’ गुरुङले भने, ‘अर्को कुरा यो व्यवस्थाप्रतिको प्रतिबद्धता के हो ? भन्ने प्रश्न उठिरहेको छ ।’

उल्लेखित विषयवस्तुबारे ओलीले ‘अहिलेसम्म आत्मालोचना वा आत्मसमीक्षा गर्न नगरेको र कुनै मूल्यांकन र स्वीकार पनि नगरेको’ गुरुङको आरोप छ । ‘अब स्थापित संसद्् विघटन गर्ने, फेरि अर्को संसद निर्वचन गर्ने भन्ने आफैंविरुद्धको कुरा हो,’ उनले थपे ।

‘ओलीले संसद् विघटन गरेर देशलाई प्रतिगमनतिर लगेको’ आरोप लगाउँदै माओवादीले कांग्रेससँग गठबन्धन गरेको थियो ।

गठबन्धनबाट ‘सन्तोषजनक परिणाम आउन नसकेको ठम्याइमा पुगे पनि माओवादी नेताले संविधान, व्यवस्था जोगाउन तथा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन’ अहिलेकै गठबन्धन निरन्तरतालाई प्राथमिकता दिएका छन् । तत्काल कांगेससँगको गठबन्धन तोडेर ‘अन्त जानु स्वाभाविक पनि नहुने’ माओवादीको ठहर छ ।

‘माओवादी यो गठबन्धन तोडेर अन्त जाँदैन,’ माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भन्छन्, ‘यो व्यवस्था जोगाउन र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि अहिलेकै गठबन्धनकै निरन्तरता नै स्वभाविक हुन्छ ।’

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘आफूहरू हालको गठबन्धनको विपक्षमा नरहेको तर यसबारे छलफल हुन बाँकी रहेको’ बताउँछन् । ‘यसबारे पार्टी र गठबन्धनभित्र छलफल हुन बाँकी छ,’ उनले भने ।

माओवादी अध्यक्ष प्रचण्डलाई फकाउँदै वाम गठबन्धनको सरकार बनाउने प्रयास जारी राखेको एमाले जसपा र राप्रपा गठबन्धनमा छ । ‘जसपा, रापप्रा आफूसँगै रहेको र माओवादी केन्द्रलाई समेत मिलाउँदा बहुमत पुग्ने भएकाले सरकार बनाउन सजिलो रहेको’ बुझाइ एमालेको छ ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको पूर्ण नतिजा आइसकेपछि सरकार निर्माणबारे राजनीतिक दलसँग छलफल हुनु स्वाभाविक रहेको बताए । ‘अहिले नै सबै नतिजा आइनसकेको अवस्था छ,’ उनले भने, ‘निर्वाचन नतिजा आइसकेपछि माओवादीसहित अरू दलसँग छलफल हुनेछ ।’