प्रचण्डको त्यो अभिव्यक्ति, जसले फेरि संसद विघटन हुने संकेत गर्छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डको त्यो अभिव्यक्ति, जसले फेरि संसद विघटन हुने संकेत गर्छ



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश फेरि प्रतिगमनतर्फ लाग्न सक्ने संकेत गरेका छन् । उनले गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने खेल भैरहेकाले यस्तो संकेत देखिएको बताएका छन्।

उनको पछिल्लो अभिव्यक्तिले फेरि प्रतिनिधिसभा विगठन हुनसक्ने र निर्वाचन घोषणाका लागि तयारी भैरहेको संकेत समेत गरेको छ ।

जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सो बताएका हुन्। ‘हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसिसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्,’ उनले भने।

राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउँदै उनले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेकोमा जोड दिए। उनले भने, ‘सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ। अहिले नआउने पनि केही समयपछि आउनुहुन्छ।’

उनले माओवादी आन्दोलन र यसले उठाएका एजेण्डालाई राष्ट्रियरूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको बताए।

‘समाजवादी क्रान्तिलाई मार्क्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ। एक चोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ। सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ। त्यसकारण सबै क्रान्तिकारीहरूले अब ढिला नगरी एकताबद्ध हुने र आत्मसमीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ।’