“प्रिय काठमाण्डौ” « Himal Post | Online News Revolution
Logo

“प्रिय काठमाण्डौ”



प्रिय काठमाण्डौ,,
पुस माघका चिसा बिहान हरुमा पनि तिमी संगको प्रीत रीत पूर्वक निभाउनु कम चुनौतीपूर्ण थिएन । ती मुटु जम्ने बिहानहरुमा तिम्रो छातीमा गढेको चापाकल लाई सकिनसकी घीच्याई पहेंलो पानी निकाल्दा म तिमीलाई खुब धिक्कार्थें,अनि भन्न भ्याऊँथें- म काठमान्डु लाई छोडेर भोली नै जान्छु । त्यो भोलि चाहिं आउँदैनथ्यो,सायद तिमी संगको प्रीतले जितेथ्यो त्यो बखत अथवा भनौं मेरा केहि बाध्यता हरूलाई तिमीले ठमेल र दरबारमार्गका ललीपपले फकाएर तिम्रै छातीमा बसाल्थ्यौ । तर प्रीत लाई परिस्थितिले हराउँदो रैछ,गलाउँदो रैछ,प्रिय काठमांडौ। अहिले म धेरै टाढा आएको छु प्यासिफिक तरेर। कोहि अर्को पूस्ताले निभाउँदै होला रीत पूर्वक तिमी संग प्रीत ।

त्यो रात ड्र्यागन आऊँदै थियो मलाई लिन, आँखा लगाई बिमानस्थलको गेटतिर हेरीरहें । न तिमीले बालुवाटार बाट कोहि पठायौ,न शिंहदरबारबाट । न त बानेश्वरबाट नै कसैलाई पठायौ मलाई रोक्न । भन त काठमांडौ, किन पठाउँदैनौ कसैलाई पनि एअरपोर्टमा, तिमीसंग गहिरो प्रीत गांसेका हरूलाई रोक्न ? म जस्ता कतिले आश गर्दा हुन, मेरो काठमांडौले कोहि त पठाउने छ मलाई रोक्न भन्दै ! खैर, जती विवस साहूको ऋणमा जहाज़ चढ़नेहरु छन, त्यो भन्दा कम विवस तिमी पनि छैनौ भन्ने मैले बुझेको छु, प्रिय काठमांडौ। यो पत्र म तिम्रो लाचारीको घाउ कोट्याउन लेखिरहेको छैन। केवल मेरा अनुभूति हरु तिमी सामू पुर्याउन लेखिरहेको छु, किन भने जती विवस भए पनि तिमी जिम्मेवार पनि छौ भन्ने मैले बुझेको छु । र जो जिम्मेवार छ उसले कुरा सुन्नु पर्छ ।

परदेश हो । काममा ब्यस्त हुन्छु, तर तिमिलाई सम्झिरहन्छु । विशेष गरी कुनै कुनै अवस्थाहरुमा त तिमिलाई नसम्झी हूँदैन । यो देश पनि प्रकृतिले सिंगरेको देश हो, नेपाल जस्तै । अनि म यो देशको अत्याधुनिक राजधानी शहरमा बस्छु । आज तिमी संग म मेरो ‘आफ्नो काठमान्डु’ छोडेर ‘पराईको टोकियो’ आउँदा र आएपछिका केहि अनुभूति हरु अनि ती अनुभूतिसंगै तिमीलाई झल्झली सम्झिएका पलहरु साट्न चाहन्छु । कसैले मलाई गाली गर्लान पनि परदेशमा बसेर ठूला कुरा गर्यो भनेर । तर ती चिसा बिहान, धुलोधुँवा र अभाव बिच फुलेको हाम्रो प्रीतको सम्मानमा तिमी सब सहजै सुन्छ्यौ भन्ने विस्वास छ ।

म जीवनमै पहिलो चोटि बोईंग चढेर बिदेश एक्लै निस्क़िएको थिएँ, त्यो त तिमीले देख्यौ नै । जहाज़भित्र साइडको सीटमा जापानमा पाँच वर्ष देखि डिपेन्डेन्ट भिसामा बस्दै आएको नेपाली साथी भेटियो । युवा साथी नै सहयात्री पाए पछिको मेरो खुशी त्यतिबेला फिका बन्यो जती बेला दुई चार चोटि नेपाल-जापान ओहोर दोहोर गरेको त्यो भाई मसंग बोल्न नपरे हुन्थ्यो झैं गरिरह्यो । मैले उसको त्यो व्यवहारलाई त्यति गहिरो गरी लिइन पनि, आम नेपाली प्रवृत्ति हो भनेरै बुझें । हंगकंग बाट त्यो भाई संगको साथ छुट्यो । बाँकि यात्रामा म एक्लै भएँ । टोकियोको नारिता एअरपोर्टमा उत्रेपछि केहि पैदल हिंडनु पर्ने रैछ । एउटा पगड़ी बाँधेको अनुहारले म प्रति सामीप्यता दर्शाउन खोजे जस्तो लाग्यो । तर बिरानो भूमिमा म अलि बढ़ी नै सचेत बनिरहें । मेरो क़रीब दस किलोको ह्यान्ड ब्याग गुडाउन मिल्ने खालको थिएन । म अलि अफ़्ट्यारोमै परेको देखेर होला, अचानक एउटा हात सहयोगको लागि अघि बढ़यो । त्यही पगड़ीवाला भारतीय नागरिक, उसको एक हात र मेरो एक हात गरी मेरो झोला बोक्ने सहयोगी बन्यो । अनि बल्ल मैले तिमीलाई र त्यो हंगकंग सम्मको सहयात्री नेपाली भाईलाई एकैचोटि सम्झें काठमांडौ । त्यतिबेला सम्म त म नयाँ दुनियाँको कौतुहलताको संसारमै हराइरहेको रहेछु कतै । तत् समय ज्ञात भयो, मानवीयतालाई कुनै पर्खाल वा बोर्डरले बार्न सक्दो रहेनछ न त नागरिकता नामको कागजले नै । औसत मान्छेहरु मान्छेको वतन र वर्ण हेरेर व्यवहार गर्छन, उसले मेरो अवस्था देखेर व्यवहार गर्यो । ऊ औसत मान्छे पक्कै थिएन । इमिग्रेसन सम्म सबैथोक सिकाएर सघाएको त्यो फरक देशको दाई फरक भिसाको कारणले होला, फरक लाइनमा लाग्यो, पछि भेटिएन । मन अमिलो भयो ।
एअरपोर्टकै कर्मचारी जस्तो देखिने व्यक्तिले अभिवादन गरी पासपोर्ट हेरेर एउटा कोठामा लग्यो, त्यो इमिग्रेसन वार्ड थियो । त्यहाँ मेरा सबै औपचारिकता र आधिकारिकता प्रमाणित गरियो । मलाई आरामसंग मेचमा बसाइयो । संवादपिच्छे शीर झुकाएर अभिवादन गरियो । अन्त्यमा मलाई जापानको रेसीडेंट कार्ड हातमा थमाइयो र लगेज बुझ्ने ठाउं देखाउँदै स-सम्मान शीर झुकाएर बिदा गरियो । भाषा त उनीहरुक़ो खासै बुझिन काठमांडौ, भाव चाहिं मज्जाले बुझें । अनि त्यो भावमा निहित सेवाग्राही प्रतिको फ़िक्रि,दायित्व,ज़िम्मेवारीपन र सम्मान बुझें । तब तिमिलाई सम्झिएँ काठमांडौ मैले । के भएको थियो, तिमीलाई भन्दैछु । पैसा पर्समा नराखेर गोजीमा राख़्ने मेरो बानी, त्रीबि बिमानस्थलको हतारोमा त्यो नेपाली रूपैयाँ आफ़ंतलाई फिर्ता गर्न बिर्सेछु । इमिग्रेसनको काम सकेर फ़ाइनल चेकिंगमा प्रहरीले गोज़िमा रहेको ७००० रूपैयाँ फेला पार्यो । ‘लैजान पाइन्न’ भन्यो । लैजान पाइन्न भन्ने थाहा पनि थियो । ‘बाहिर मेरो मान्छे छ, दिएर आउँछु’ भनें । ‘मिल्दैन’ भन्यो । धन्न फ़ोन साथमै ल्याएको थिएँ । फोन गरें । ‘श्रीमतीको बुटवल फ़र्किने भाड़ा नै मैले बोकेर आएँछु, सर प्लीज़ यो पैसा दिएर आऊँछु’ भनेर लगातार रोईकराई गरेपछि बल्ल तल्ल अनुमति दियो र तल गएर पैसा फिर्ता गरें । फर्केर आउँदा प्रहरीकै टेबलको तल राखेको ह्यांडब्यागको बाहिर छोड़ेको ऊनीको टोपी थिएन । म केहि बोलिन । टोपी बाहिरै छोड्नु मेरै गल्ती थियो । रू. ७००० राख़्ने ठाउँमा ३०० रूपैयाँको टोपी राखेकोमा खासै गुनासो रहेन । जे होस, बाज़का जस्ता पंजा भएका एअरपोर्ट कर्मचारीको हातबाट श्रीमतीको बाटोखर्च छुटाउन सफल भएकोमा गदगद भएँ । परिवार अनि देश छोड़ने पिडा बिचको त्यो कस्तो गदगदी, प्रिय काठमांडौ ?!

लगेज लिएँ । सस्तो खालकै किनेकोले ह्याण्डलको नट टुट्नु बाहेक लगेज सलामत थियो । फेरि पनि मैले तिमीलाई नै सम्झें काठमांडौ। देशको एक मात्र अन्तराष्ट्रीय बिमानस्थलमा बिदेश बाट फ़र्किने नेपाली कतिका झोला हराएको, लगेजका ताला तोडिएको, मूल्यवान सामान गायब पारिएको खबर पढेको/हेरेको सम्झना आयो । यी सब सहेर बसिरहेको मेरो काठमांडौको माया भन्दा दया बढ़ी लाग्यो । बाहिर आफन्त लिन आएका थिए । ट्याक्सी वालाहरु तंछाडमछाड गर्दै मेरा झिटीझाम्टा खोस्न आउलान भन्ने लागेको थियो, त्यसो भएन प्रिय काठमांडौ। ट्याक्सी र यात्रु सबै लाइनमा बसी पालो कुरिरहेका, धक्का मुक्की बिल्कुल नाई । भाईले रेलमा निवास सम्म पुग्ने सस्तो उपाय निकाले पछि मेसिन रिडेबल कार्ड छुवाएर प्लेटफ़ार्म तिर लाग्यौं । भीड़ त थियो नि मान्छेको, तर सबै लाइनमा, पालैपालो । आराम संग रेल चढ़ें, अनि फेरि तिमिलाई सम्झें । रत्नपार्कमा निलो माइक्रो चढ़दा दिनहुँ गर्ने झगड़ा सम्झें, सुन्धारामा सफा टेम्पोमा सीट पाउन दौड़िंदा बृद्धलाई लड़ाएको सम्झें ।उत्तिबेलै हातमा हेरें, ठेलमठेलमा हातमा लागेको चोटको निशान गायब भैसकेको रहेछ, तर न त्यो सम्झना हराएको छ, न रत्नपार्क र सुन्धाराको दृश्य नै फेरिएको छ । तिमीले कति थोक सहेको छौ है काठमांडौ ?!

जापानमा रेसीडेंट कार्डको धेरै महत्व छ,साथमै लिएर हिड्नु पर्छ, प्रहरीले चेक गरिरहन्छ । आएको भोली पल्ट नै एअरपोर्टमा इमिग्रेसनबाट दिइएको रेसीडेंट कार्डमा ठेगाना चढ़ाउन हामी लाग्यौं वार्ड अफ़िसतिर, जसलाई जापानी भाषामा कुयाक्सो भन्छन । शान्त वातावरण, ठूलो एरियामा पार्क सहितको सुबिधासम्पन्न कुयाक्सोले त आकर्षित गर्यो नै, त्यो भन्दा बढ़ी आकर्षित त्याहाँ हुने कामले गर्यो । नम्बर लिने, पालो कुर्ने, बस्ने कुर्सीको ब्यबस्था, पालो आएपछि बोलाउने, सेवाग्राहीलाई काउण्टर अगाड़ी बसाएर आफूहरूले उभिएर काम गर्ने, शीर झुकाएर मन्द मुस्कान सहित सेवा प्रवाह गर्ने,एक एक कुराले मेरो ध्यान खिचिरहे । जति त्यो अनौठो देखेर टोलाईरहें,त्यति तिमिलाई सम्झिरहें काठमान्डु । सजिलै सरकारी सेवा प्रबाह भएको देखेर ज़िल्ल पर्ने भैसकेको रैछु म त काठमांडौ! केहि दिन अघि मात्र सोल्टीमोडमा इन्सुरेन्सको पसल थापेकाहरूले श्रम इजाज़त पत्र लिन जाँदा गरेको छिनाझपटी सम्झें, अनि सब रीत पुर्याएर जाँदा पनि श्रम बिभागका कर्मचारीले दिएको दुःख सम्झें । ख़ासमा भएको के थियो भने प्रिय काठमांडौ, म जे कामको लागि आउँदै थिएँ, त्यो काम प्रदायक कम्पनीको नामलाई लिएर ती झ्यालमा बसेका महासायले दुःख दिन खोजे । अगाड़ी चना,चाउमीन,भुजा र चिया राखेर पल्लो मेचमा बसेकी मेडम संग गफमा मस्त हुने ती सरकारी मान्छेले मेरो एक सुनेनन । मैले भनिरहें, ‘उताको इमिग्रेसनले ओके गर्यो,यहाँको एम्बेस्सीले भिसा दियो, कम्पनी संगको करार पत्र साथमा छ, सोध्नुस,खोज्नुस,इंटरनेट सर्च गर्नुस,मलाई यसरी नलट्काउनुस’ । तर काम गर्ने टेबलमै खाजा खाने ती सरकारी मान्छेले मेरो कुरै खाएनन । म र अर्को एकजनाको साझा समस्या थियो त्यो । हामीले हाकिमलाई भेटेर कुरा राख़्ने निधो गर्यौं तर हाकिम बाहिर थिए,कार्यालयमा थिएनन । हाकिमलाई कुर्दा तीन घण्टा बित्यो । अन्तत: हाकिम आएर गाँठो फुकाइदिए, अनि चना वाला महाराजलाई केहि हप्काए जस्तो पनि गरे । फ़र्किदा सोल्टीमोड़को इन्सुरेन्स ब्यापारीकोमा राखेको झोला लिन पसें र भित्र पाएको सास्ती सुनाएँ । ब्यापरी हाँस्दै बोल्यो, ‘तपाइँहरु पैसा खर्च गर्न मरे झैं गर्नुहुन्छ,अलिअलि थपेको भए त म तपाइँहरूलाई यहीं बसालेर सब गराएर ल्याइदिन्थें नि’ ! अवाक् भएँ काठमांडौ, के बोल्नु ? हामी अलि अलि पढ़ेका, अक्षर चिनेकाको शिक्षा र ज्ञानको बलात्कार त्यतिबेला हुन्छ जति बेला आफ़ै भर्न सक्ने फारम हामीले सरकारी कार्यालयहरू बाहिर पसल थापेका यस्तै ब्यापारीहरु बाट भराउन बाध्य हुन्छौं । प्रशासन,नापी, मालपोत,यातायात,स्थानीय निकायका कार्यालयहरुमा नेपाली शिक्षित बर्गको शिक्षा र ज्ञानको बलात्कार गर्ने पसल तिम्रो छातीमाथि कति खुलेका छन है काठमान्डु ?!

म आएको वर्षदिन पुग्न लाग्यो काठमांडौ, मलाई टोकियो भन्दा कैयौं गुणा प्यारो तिमी लाग्छौ किनकि यो ज्यानमा त्यहिंको सुवास छ । म हरदिन हर क्षण तिमीलाई सम्झिरहन्छु । अझ भनूं भने कतिपय उल्लेखित जस्तै अवस्थाहरुमा तिमीलाई नसम्झेको पल नै हुँदैन । तिमीलाई सम्झिंदै गर्दा म ती सब पात्रलाई सम्झिन्छु जो इच्छाले न्यूयोर्क,लंडन,सिडनी पुगेका होलान अनि बाध्यताले खाडी पनि पसेका होलान । सबको प्रीत तिमीसंग बराबरीको हो । तर,प्रिय काठमांडौ, प्रीतले रीत नपुर्याउने हो कि, प्रीतले बाटो मोड़ने हो कि अनि प्रीतले मात्र पुग्दो रहेनछ भनेर तिम्रा अनुरागीहरु सुबिधाको लागि बिद्रोह गर्दै न्यूयोर्क,लंडन,टोकियो वा सिडनीका गल्लीहरुमा हराउने हुन कि भन्ने डरले सताउँछ। ‘सोल र सिस्टम'(आत्मा र ब्यबस्था) मिल्न सके कति जाती हुन्थ्यो नि काठमांडौ? तिमिलाई प्रेम गर्नेहरु तिमीमा केवल सिस्टम खोज्छ्न बाँकि त तिमी संसारकै सुन्दर राजधानी हौ, शीतल र उदार शहर हौ, शंका नै छैन ।

पत्र लामो हूँदै गयो । मेरा सबै भोगाईहरु यो पत्रमा समेटिएनन । म पत्र लेखिरहने छु बेला बेलामा । मैले यस्तै गुनासा तिमी सामू बिसाइरहँदा एउटा यस्तो समूहको गाली पनि ख़ानु पर्ला सायद जसले भन्न सक्नेछ, ‘देश छाडेर परदेशमा पुगेकाले किन टाउको दुखाउँछस’ ? आफू सिस्टमको बिरुद्ध केहि नगर्ने,नबोल्ने,नेताज्यूको हनुमानी मात्र गर्ने,भात खाएको थाल पनि यूरिक एसिड भएकी आमालाई मझाएर चोकमा स्नूकर र क्यारमबोर्ड खेल्ने, करेसाबारी बाँझो राखेर इम्पोर्टेड आलु खाँदै चर्को राष्ट्रवाद फलाक्ने धुन्धुकारीको जमात खुब बालियो गरी डेरा जमाएर बसेको छ तिमीभित्र । तिमी कतै तिनैको प्रभावमा परी मेरो प्रेममय गुनासोलाई बेवस्ता गर्छौ कि भन्ने सानो डर पनि लाग्छ काठमांडौ। त्यसो त मैले के नै ठूलो अपेक्षा राखें र तिमीबाट ? चुच्चे रेल तिम्रो छातीमाथि भोलि नै दगूरोस भनिन, अग्ला महल तिम्रो छाती माथि भोलि नै ठडिऊन भनिन, पिउने पानी त मुस्किल भाक़ो ठाउँमा बागमती र विष्णुमतीमा बिद्युतिय नौकामा सवार गर्न पाऊँ भनिन, अनि सबै काम मेसिनले गरोस पनि भनिन । मलाई आफ्नो देशको श्रोत र सामर्थ्य राम्रो संग थाहा छ । भनें त केवल ‘जे छ र जे सकिन्छ त्यो गरौं,त्यो सुधारौं मात्र’ भनें । ‘हाम्रा बानी बदलौं,हाम्रा सोंच बदलौं’ मात्र भनें । बिकास र समृद्धि भनेको सोंचको उपज हो काठमांडौ, यो कुराको गहिरो बोध अनुशासन,नियम र क़ानून पालना गरिरहेका हरुलाई देख्दै गर्दा हूँदो रहेछ । मैले आजको पत्रमा गरेको प्रयास पनि यत्ति नै हो । मेरा कुरा सकिएका छैनन, अनि तिमीले मूकदर्शक बनेर हेरिरहने र सहिरहने सिस्टमका पिडाको फ़ेहरिस्त पनि लामो नै छ । आगामी लेखनीमा आउलान ती कुरा । आजलाई बिदा माग्छु ।

-तिम्रो अनुरागी, हेमन्त गिरी, टोकियो बाट ।