सुरू नहुँदै कतार विश्वकप विवादमा - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

सुरू नहुँदै कतार विश्वकप विवादमा



विश्व फुटबल महासंघ (फिफा)का पूर्व अध्यक्ष सेप ब्लाटरले कतारमा २०२२ को विश्वकप आयोजना गर्ने निर्णय गर्नु आफ्नो गल्ती भएको बताएका छन्। सन् २०१० मा सन् २०२२ को विश्वकप कतारमा आयोजना गर्ने निर्णय हुँदा फिफाको अध्यक्ष ब्लाटर थिए।

समलैङ्गिक विवाह, मानव अधिकार र आप्रवासी कामदारप्रतिको व्यवहारको विषयलाई लिएर खाडी राष्ट्र कतारको आलोचना हुँदै आएको छ। यस्तो अवस्थामा ब्लाटरले यस्तो बताएका हुन्।

स्वीस समाचारपत्रसँगको कुराकानीमा ब्लाटरले विश्वकपको आयेजना गर्न कतार निकै सानो मुलुक भएको उल्लेख गरेका हुन्। फुटबल र विश्वकप कतारको लागि निकै ठूलो कुरा भएको पनि उनको भनाइ छ।

विश्वकप फुटबलको ९२ वर्षको इतिहासमा पहिलोपटक यो प्रतियोगिता खाडी मुलुकमा हुन लागेको हो। साथै पहिलोपटक विश्वकप जाडो मौसममा हुन लागेको हो।

१२ वर्षअघि फिफाको कार्यकारी कमिटीमा भएको मतदानमा अमेरिकालाई १४–८ मतले हराउँदै कतारले विश्वकप आयोजनाको अधिकार पाएको थियो। यो प्रतियोगिता नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म चल्नेछ।

ब्लाटरले आफूले व्यक्तिगत हिसाबमा अमेरिकाको पक्षमा मतदान गरे पनि त्यतिबेलाको युरोपेली फुटबलका अध्यक्ष मिचेल प्लाटिनीले भने कतारको पक्षमा मत खन्याएको बताए। उनकै कारण अमेरिकाको सट्टामा कतारले विश्वकप आयोजनाको अधिकार पाएको ब्लाटरको दाबी छ।

सन् २०१२ देखि कतारले आप्रवासी कामदारलाई विश्वकपको स्टेडियम बनाउने क्रममा गरिरहेको व्यवहारबारे पारदर्शी हिसाब फिफाले राख्न थालेको ब्लाटरले बताए। ब्लाटर १७ वर्ष फिफाको अध्यक्ष थिए। तर, सन् २०१५ मा उनीमाथि लागेको भ्रष्टाचारको आरोपको कारण उनी पदबाट हटेका थिए।