अस्तव्यस्त क्वारेन्टाइन : न खानेपानीको व्यवस्था , न ओढ्ने ओछ्याउने नै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अस्तव्यस्त क्वारेन्टाइन : न खानेपानीको व्यवस्था , न ओढ्ने ओछ्याउने नै



विशाल पाण्डेय / कैलाली ।
कोरोना भाइरसको संक्रमण तत्काल रोकथाम हुने अवस्था नआएपछि रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्किरहेका छन् । स्थानीय तहहरुले निश्चित क्वारेन्टाइन व्यवस्थापन गरेपनि ठूलो संख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि व्यवस्थापनमा समस्या देखिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकामा क्वारेन्टाइन व्यवस्थापनका लागि आईतबार कार्यपालिकाको बैठक बसी नगरका सवै वडामा रहेका विद्यालयमा आवश्यकता अनुसार क्वारेन्टाईन संचालन गर्ने र त्यसको खर्च नगरपालिकाबाट गरिने निर्णय गरेपनि क्वारेन्टाइन व्यवस्थापन नहुदा त्यहाँ रहेकाले सास्ती खेप्नु परेको छ ।

क्वारेन्टाइनमा खानेपानी ,खानाको साथै सुत्नको राम्रो व्यवस्था नहुदा आफुहरु समस्यामा परेको घोडाघोडी नगरपालिका -३ सरस्वती आधारभूत विद्यालयमा संचालन गरिएको क्वारेन्टाइनमा रहेका गणेश बोहराले बताए ।
उनले भने, “भारतबाट आउदा सुरक्षित तरिकाले आएपनी यहाँ अशुरक्षा भएको महशुस भएको छ ।” सामाजिक दुरि कायम गर्दै क्वारेन्टाइनना बस्नुपर्ने भएपनी बाध्यताले एउटै कोठामा १३ जना बस्नुपर्ने बाध्यता रहेको छ ।’

अर्का युवा समशेर चन्दले क्वारेन्टाइनमा सबै समस्या पुरा गर्न नसकेपनी पानी ,शौचालय लगायतका कुराको व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले सबैले एउटै शौचालय र धारा प्रयोग गर्नु बाध्यता रहेको हुँदा क्वारेन्टाइनमा बसेको अर्थ नभएको बताए । वडा अध्यक्ष लाई गुनासो गर्दा गैर जिम्मेवारी कुरा गरेको उनले गुनासो गरे ।

आफुहरु बालबालिका सहित रहेको हुँदा झुलको व्यवस्था नहुदा रातभर जाग्राम बस्नुपर्ने स्थिती आएको रुपा साउदले बताइन । उनले टिनको छानोमुनी पंखा नलगाइ बस्नु पर्दा आफू भन्दा पनि आफ्ना छोराछोरी बिरामी हुन्छ्न कि भन्ने चिन्ता लागेको बताइन् ।

मुम्बई बाट मंगलबार निम्दी पुगेका शंकर बहादुर विश्वकर्माले बिछ्याउने र ओड्ने समेत नभएको दुखेसो पोखे । उनले आफुहरु आएको लामो समय हुदा पनि अध्यक्ष लगायतका जनप्रतिनिधि न आउदा दुख लागेको बताए । हामिले जिताएका जनप्रतिनिधि दुख पर्दा भेट्न समेत आएनन् , उनले भने, ‘खान समेत घर बाट ल्याउने भए क्वारेन्टाइनमा बसेको अर्थ नै रहदैन । ‘ घर परिवारले खाना पुर्‍याउन आउदा उनिहरुलाई पनि संक्रमण हुने होकि भन्ने चिन्ताले सताएको छ ।’ आफुहरुलाई खाना ल्याएर आउदा घर परिवारलाई गाउले हरुले यो सडकमै नहिड्न भनेको समेत उनले दुखेसो पोखे ।

वडा स्थरमा स्थापना गरिएका क्वारेन्टाइनमा केहि वडाहरुले खाना र नास्ताको समेत व्यवस्थापन गरे पनि केहि वडाहरुको क्वारेन्टाइन अस्तव्यस्त बनेको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले दुख व्यक्त गरेका छन् ।

घोडाघोडी नगरपालिका वडा नं ३ का अध्यक्ष कमल थारुले आफुहरु क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेको बताए । उनले वडाका ४ वटा विद्यालयमा क्वारेन्टाइनको व्यवस्थापन गरिएपनी कुनै ठाउँमा समस्या देखिएको स्वीकार गरे । उनले भने, ‘एक्कासी वडामा क्वारेन्टाइन बनाउने निर्णय गरियो , पर्याप्त समय नहुदा राम्रोसँग व्यवस्थापन गर्न पाइएको छैन ।’ कुनै ठाउमा पानीको व्यवस्थापन गर्न सकिएको छैन भने कुनै ठाउमा ओड्ने ओछ्याउनेको ।’ उनले आफ्नो वडामा अझै करिब २ हजार भन्दा बढी मानिसहरु आउने हुँदा राख्नको लागि उचित संरचना समेत नभएको बताए । अध्यक्ष चौधरीले एकैपटक समस्या समाधान नहुने बताउदै बिस्तारै क्वारेन्टाइनका लागि उचित व्यवस्थापन गरिने जानकारी दिए ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले दैनिकजसो सीमामा रहेका आफ्ना नागरिकलाई लिन नगरपालिकाले सवारीसाधन पठाउने गरेको बताए । उनले सिमा क्षेत्रमा आएका आफ्ना नागरिक ल्याउन र उनिहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न लागिरहेको बताए । उनले नगरपालिकाको १२ वटै वडामा क्वारेन्टाइन व्यवस्थापनका लागी वडाध्यक्षको संयोजकत्वमा अन्य सरोकारवाला हरुलाइ समेत खटाइएको बताए । घोडाघोडी नगरपालिकामा बुधबार साझसम्म करिब ७ सय भन्दा बढी मानीसहरु क्वारेन्टाइनमा रहेको र बढ्ने क्रम जारी रहेको नगर प्रमुख चौधरीले बताए ।