४० लाख बुझाएर अमेरिका हिँडेका नेपाली युवाको बाटोमै दर्दनाक मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

४० लाख बुझाएर अमेरिका हिँडेका नेपाली युवाको बाटोमै दर्दनाक मृत्यु



काठमाडौँ- दलाललाई ४० लाख बुझाएर चोर बाटोबाट अमेरिका जान हिँडेका नेपाली युवाको बाटोमै दर्दनाक मृत्यु भएको छ । चिनजानकै दलालमार्फत अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम, मुसीकोटका २८ वर्षे रूपक बोहराको अफ्रिकी मुलुक घानामा मृत्यु भएको हो ।

सबै ऋणपान र घरजग्गा धितो राखेर छोराको भलाइका लागि अमेरिका जाने भन्दै दलाललाई पैसा बुझाएको परिवारको झनै बिजोग बनेको छ । रुकुमको बाँकेकोट गाउँपालिका–३ का वडा सदस्यसमेत रहेका बोहराका बाबु देवबहादुर बोहराले आफूहरूको बिजोग भएको बताएका छन् ।

उनका बाबुका अनुसार गाउँठाउँबाट दलाललाई पैसा ख्वाएर थुप्रै जना अमेरिका पुगिसकेका छन् । त्यही भरमा परेर आफूले पनि चिनजानका एजेन्टले भनेअनुसार पैसा पठाउँदै आएको बताएका छन् ।

रूपकका बुबा देवबहादुरलाई आफ्नो छोरा के, कताबाट र कुन हवाई बिन्दुबाट घाना पुग्यो भन्ने जानकारी छैन । ‘छोरालाई अमेरिका पठाउन उठाएको ऋणका कारण यता उठीबास लाग्ने स्थिति छ,’ उनले भने । तर अमेरिका पठाउने भन्दै गाउँ पसेर युवालाई सपना देखाउने एजेन्टहरू सम्पर्कमै रहे पनि तिनलाई पक्राउ गर्न र आवश्यक कारबाही गर्न कहीं, कतैबाट कुनै पहल नभइरहेको उनले बताए । तीन महिनाअघि अमेरिका जान भनी घरबाट हिँडेका रूपकका घरमा नाबालक दुई छोराछोरी र श्रीमती छन् । अस्पतालको बेडबाट धेरै कुरा बोल्न नसक्ने र घरै फर्कने इच्छामात्रै जनाइरहेका रूपकले बितेको अवधि दलालको घेरामा कहाँ, कसरी समय बिताए भन्न सकिरहेका थिएनन् ।

तिरेको पैसामध्ये ३१ लाख रुपैयाँ आफूले बुझेको भनेर हाल नेपालगन्जमा रहेका सहायक एजेन्ट मनोज महतराले सरकारी वकिलसमक्ष कागज गरिसकेका छन् ।

इमिरेट्स एयरलाइन्सले छोड्यो अलपत्र

१० दिनअघि सियरा लियोनको फ्रिटाउनबाट अक्रा पुगेका बोहरालाई मलेरियाले ग्रस्त बनाएको अवस्थामा इमिरेट्स एयरलाइन्सले अक्रा एयरपोर्टको ट्रान्जिटमा अलपत्र छाडिदिएको थियो । बोहराको गम्भीर स्वास्थ्य स्थितिका बारेमा जानकारी पाएपछि घानास्थित भारतीय उच्चायुक्त, गैरआवासीय भारतीय तथा नेपाली समुदायले उनको उपचारमा सहयोग गर्दै आएका थिए ।

दक्षिण अफ्रिकास्थित नेपाली चिकित्सक एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्वास्थ्य संयोजक डा.सरिता पाण्डे भट्टराईले दिएको जानकारीअनुसार शनिबार अपराह्न रूपकको निधन भएको अस्पतालले सूचना दिएको छ । रिज अस्पतालका सम्बद्ध चिकित्सकसँग नियमित परामर्शमा रहँदै आएकी डा. भट्टराईले यो घटनाबारे एनआरएनए मुख्यालयलाई समेत अवगत गराएकी छन् ।

घानामा महँगो उपचार खेप्दै सहयोगको पुकार गरिरहेका बोहरालाई दैनिक चार सय डलरभन्दा बढी खर्च लाग्ने भएकाले रकमको जोहो गर्न घानास्थित एनआरएनए लागिपरेको थियो ।