सफाई पाएपछि सागर थापाको कारुणिक प्रश्न : अब मेरो ६ वर्ष कसले फिर्ता गर्छ ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सफाई पाएपछि सागर थापाको कारुणिक प्रश्न : अब मेरो ६ वर्ष कसले फिर्ता गर्छ ?



काठमाडौं- म्याच फिक्सिङको आरोपमा प्रतिबन्धमा रहेका सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिएको छ ।

म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका सागरसहित पूर्व अन्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियो थेरापिष्ट डेजिप थापाले सर्वोच्चबाट मंगलबार सफाई पाएका हुन् ।

सरकारी पक्षले २०७५ मंसिर २० गते सर्वोच्चमा गरेको पुनरावेदनमा मंगलबार फैसला सुनाउँदै न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाई दिएका हुन् । उनीहरुलाई २०७५ जेठ २४ गते सोही अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाई दिएको थियो ।

उनीहरुविरुद्ध राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको प्रहरी अनुसन्धानको निचोड थियो । प्रहरीले सोही निष्कर्षसहित पाँच जनाविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा २०७२ कात्तिकमा मुद्दा दायर गरेको थियो ।

अदालतबाट सफाई पाएपनि फिफाले उनीहरुलाई आजीवन खेल्न नपाउनेगरी प्रतिबन्ध लगाएको छ ।

अदालतबाट सफाई पाएपछि सागर थापाले आफूले जीवनको महत्वपूर्ण ६ वर्ष गुमाएको गुनासो गरे । उनले प्रश्न गरे, ‘मैले खेल गुमाउनु परेको ६ वर्ष कसले फिर्ता गर्छ ?’ उनले आफूले नगरेको अपराधबाट सफाई पाउने विश्वास रहेको बताउँदै भने, ‘यो गम्भीर दाग लगाएर हामीलाई खेलबाट यत्रो वर्ष बाहिर राखिदिएका छन् । मेरो ६ वर्ष कसले फिर्ता गर्छ ?’

उनले आफूहरु अपराधी नभएको पुष्टि भए पनि जिन्दगी वरबाद भएको गुनासो गरे ।