सलमानले रानुलाई घर किनिदिएको समाचार झुठाे - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

सलमानले रानुलाई घर किनिदिएको समाचार झुठाे



एजेन्सी– केही दिनअघि सामाजिक सञ्जाल र भारतीय सञ्चार माध्यमहरुमा बलिउड स्टार सलमान खानले रेल्वे स्टेशनमा गीत गाएर भाइरल बनेकी रानु मण्डललाई ५५ लाख भारतीय रुपैयाँ बराबरको घर किनिदिएको समाचार सार्वजनिक भएको थियाे।

यद्यपी उक्त समाचारमा कुनै सत्यता नभएको बताइएको छ। सलमान खानले रानुलाई कुनै उपहार नदिएको समाचार केही भारतीय  सञ्चारमाध्यमहरुमा प्रकाशित भएको छ।

समाचारमा उल्लेख गरिए अनुसार, काेलकात्ताकाे राणाघाटमा रहेकाे ‘अम्रा शोबई शोइतान क्लब’का सदस्य विक्की विश्वासले यसकाे खुलासा गरेका हुन्।

विक्कीले भनेका छन्,‘हाम्रो क्लबका दुई सदस्यले रानु मण्डलको भिडियो राणाघाट रेल्वे स्टेशनमा खिचेका थिए, जुन सामाजिक सञ्जालमा भाइरल भयो। त्यतिबेलादेखि हामीले नै रानु मण्डलको रेखदेख गरिरहेका छौँ। सलमान खानले ५५ लाखको घर उपहार दिएको हामीलाई थाहा छैन। यो फेक न्यूज हो, जुन सामाजिक सञ्जालमा फैलाइएको छ।’

विक्कीले सामाजिक सञ्जालमा रानु मण्डललाई ‘सलमानले घर दिएको, १५ लाखको गाडि किनेको, उनलाई बिगबोसमा बोलाइएको वा हिमेश रेशमियाले गीत गाएवापत ५० लाख दिएको’ जस्ता हल्लामा कुनै सत्यता नभएको बताए।

यद्यपी हिमेश रेशमियाले भने रानु मण्डलका लागि धेरै गरेको विक्कीले बताए। हिमेशले उनलाई मुम्बई आउने–जाने खर्च व्यहोरेको उनले जानकारी दिए।

विक्कीका अनुसार रानु मण्डललाई अहिलेसम्म सोनी टिभीको रियालिटी शो ‘सुपरस्टार सिंगर’ मा भाग लिए बापत जे–जति रकम मिलेको थियो त्यति मात्रै हो। त्यसबाहेक रानुलाई अरु कसैबाट सहयोग भएकाे छैन।

बलिउड गायक, संगीतकार तथा अभिनेता हिमेश रेशमियाको आगामी चलचित्र ‘ह्याप्पी एण्ड हिर’ का लागि रानु मण्डलले दुई गीत ‘तेरी मेरी कहानी’ र ‘आदत’ गाएकी छन्।

५९ वर्षीया रानुले गाएको लता मंगेशकरको ‘प्यारका नगमा’ गीत सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्चा सुरु भएको थियो। उक्त भिडियो अतिन्द्र चक्रवर्तीले खिचेका थिए र तपन दासले सामजिक सञ्जालमा पोष्ट गरेका थिए।