संघीयता खारेज गर्न संविधान संशोधन प्रस्ताव दर्ता गराइने - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

संघीयता खारेज गर्न संविधान संशोधन प्रस्ताव दर्ता गराइने



काठमाडौँ – संघीयता आवश्यक नभएको र संघियताले देशको हित नगर्ने वकालत गर्दै आएको राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको प्रस्ताव गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराउने भएको छ।

बुधबार जनमोर्चाले संसद सचिवालयमा नेपालको संविधानमा रहेका संघीयता सम्बन्धि सबै व्यवस्था एक मुष्ट खारेज गर्ने गरी संशोधन प्रस्ताव दर्ता गराउन लागेको हो।

संविधान संशोधनका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक पर्ने भए पनि जनमोचाको तर्फबाट दुर्गा पौडेल एक जनामात्र सांसद छिन्।

पौडेलले आफ्नो पार्टीको तर्फबाट संशोधन प्रस्ताव बुधबार दर्ता हुने जानकारी दिँदै भनिन्, ‘हामीले संघीयता सम्बन्धी सबै प्रावधान र अनुसूचीहरु खारेजीको हुनुपर्ने संशोधन प्रस्ताव तयार गरिरहेका छौं।’ उनी मंगलबार नै संशोधन विधेयक दर्ता गराउन संसद सचिवालय पुगे पनि प्रक्रिया नमिलेपछि फर्किएकी थिइन्।

त्यस्तै नेपाली कांग्रेसका केही सांसदहरुले पनि संविधान संशोधन विधेयक दर्ता गराउने भएका छन्।

कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णय अनुसार तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएर असफल भएको संविधान संशोधन प्रस्तावलाई फेरि दर्ता गराउने भएका हुन्।

तर संशोधन प्रस्तावमा कांग्रेसका ७ जना सांसदले हस्ताक्षर गरे पनि पार्टीभित्र विवाद भएपछि मंगलबार दर्ता नगराइ फर्किएका छन्।

तराई(मधेसबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरी, अमरेश कुमार सिंह, चित्रलेखा यादव, उमाकान्त चौधरीलगायत विधेयक दर्ता गराउन खोजे पनि सचेतक पुष्पा भुसालले पार्टीभित्र थप छलफल गर्नुपर्ने भन्दै फोन गरेपछि उनीहरु दर्ता नगरी फर्किका हुन्। उनीहरुले पनि बुधबार दर्ता हुने जनाएका छन्।

सोमबार राजपा र समाजवादीले प्रदेशको अधिकार बढाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि अरु दलले पनि काउन्टर स्वरुप गैर सरकारी विधेयक दर्ता गराउन लागेका हुन्।

सरकारले लिम्पियाधुरासहितको भूभाग निशासन छापमा रहेको नेपालको नक्सा संशोधन दर्ता गरेपछि राजप र समाजवादीले पनि यहीँ बेला आफ्ना माग सम्बोधन हुनुपर्ने प्रस्ताव अघि सारेका हुन्।