सरकार ! डा. के सीको हत्या गरे हुन्न  ? « Himal Post | Online News Revolution
Logo

सरकार ! डा. के सीको हत्या गरे हुन्न  ?



हेमन्त गिरी  

“यी बुढाले साह्रै ‘ल्यांग ल्यांग’ गरे । सरकार यिनको हत्या गरे हुन्न ?”

आज अचानक मनमा यस्तै कुरा पलायो । दाह्री कपाल सेतै फुलेको,सामान्य पहिरन लगाउने,हेर्दा डाक्टरको जस्तो अदब कहीँ कतैबाट नदेखिने,सात्विक भोजन गर्ने,सानो आवाज र सरल भाषामा बोल्ने एक सन्त डाक्टर बारम्बार जनपक्षीय आफ्ना मागलाई लिएर ज्यान जोखिममा राख्दै अनशन बस्छ । प्रत्येक सरकार र मन्त्रीहरुले माग पूरा गर्ने भनेर जूस पिलाउँछन र केही समयलाई थामथुम पार्छन । समय बित्दै जाँदा त्यो कुनै चल्तीको डाक्टरी आकर्षण नभएको जोगी जस्तो डाक्टर सँग भएका सम्झौताहरुलाई पैतालामुनि हालेर सत्ताको गुलियोमा रमाउँछन ।

पाण्डे,मिश्र यस्तै थरधारी जनप्रतिनिधि नामका ठुला व्यापारी देखि लिएर विश्वविद्यालय हाँकेका पासा-विद्वानहरु आएर ख़रीद गरिएका मीडियामार्फ़त गर्जन गर्छन्,त्यो त्यागी डाक्टर प्रयोग भएको छ अनशनको लागि भन्दै ! विद्वान र जनमत पाएका भनिएका प्रतिनिधिले नै पत्थरका लकीर जस्ता यस्ता महावाणी बोले पछि किन राख्ने यिनलाई ? सरकार ! यिनको हत्या गरे हुन्न ?

राष्ट्रवादको फूटपाते पसल थापेर रातारात मनग्ये कमाएका बालकोटे महाराजहरु त्यो शालीन सत्याग्रहमा लागेको जनताको सेवक डाक्टर बरु मरोस भन्ने अप्रत्यक्ष श्राप दिन्छन । आफू अनशन बसेर प्रधानमन्त्री गिराउने अभिव्यक्ति दिएर दरिद्रले त्यागीको खिल्ली उड़ाउँछन । जनयुद्ध हाँकेका गौरवशाली भनिने लाजिम्पाटे महाराज नज़ीरका कुरा गर्छन् जबकि कस्ता नज़ीर उनले भरतपुर तिर बसाले त्यही हेरे हुन्छ । नेपालीहरूले टन्न ‘जनमत’ दिएका भनिएका यी महान् आत्माहरुले नै सन्त डाक्टरको अनशनलाई भद्दा मजाक बनाइदिए पछि किन त्यसै कागजका खोष्टामा आठ दशवटा पूरा नगर्ने बाचाका बूँदाहरु लेखेर उनलाई झुक्याइरहनु ? सरकार ! बरु उनको हत्या गरे हुन्न ?

फेरि यसरी पनि सोंच्छु-परिवार नभएको एक्लो मान्छे । कमाउनु कसको लागि अनि गुमाउनु कसको लागि ? के को लागि अनशन बसेको बस्यै गर्दा हुन ? तेत्रो पढेलेखेका प्रोफेसर मान्छे । डाक्टरहरुलाई पढाउँछन । किन देश अनि देशको चलन नबुझेका होलान् ? डाक्टर/प्रोफ़ेसर भन्ने बित्तिकै डम्म भुँडी लाएको,रवाफिलो,पहूँचवाला; गाडी,बंगला,नोकरचाकर भएको अनि आठ/दश वटा मेडिकल कलेज नामका पसल खोलेको सफेद रङ्गको कालो व्यापारी भनेर बच्चाले सम्म बुझेको देशमा सादा पहिरन,सात्विक भोजन,शालीन बोली,सभ्य व्यवहार,सरल जीवन बाँच्न खोज्ने अनि रातोदिन तिन करोड नेपालीको लागि भन्दै अनशनमा होमिने व्यक्ति कति मूर्ख होलान् ? यस्ता शिक्षित मूर्खहरुको यो देशमा काम छैन सरकार ! यिनको हत्या गरे हुन्न ?

यति ठुलो ऐतिहासिक स्थानीय तहको चुनाव सम्पन्न भयो । तीस वर्षको इतिहासमा तीनवटा पनि जनताले सम्झिने विकासका काम नगरेका ऐतिहासिक दलहरूले नै शीर्ष तीन स्थान हात पारे । कोही जग्गा व्यापारी,कोही पुराना मुखिया,कोही समाजका दलाल,कोही डन त कोही सांच्चैका जनताका सेवकहरु विजयी भए । ख़ैर जे जस्ता मान्छेले जीत हात पारे पनि उनीहरू अब जनप्रतिनिधि भएका छन् र जनप्रतिनिधीहरु मध्ये अधिकांश धमाधम जनताको काम गर्न भन्दै गाडी,घोंडा किन्नमा लाग्या छन् । मोटरसाइकल,मोबाइल देखि मर्सीडिज सम्म चढेर प्रतिनिधिहरू जनताको काममा जुटिसकेका छन् ।

स्मार्ट सिटी,स्याटलाइट सिटी,रेल,जहाज़,अनि फ्रि वाईफाई सम्मका कुरा भएका छन् । सय दिन भित्र नगर र गाउँका मुहार फेर्ने उद्घोष नयाँ मुखियाहरुले गरेका छन् । हेर्नुस त, काम गर्ने कस्तो हुटहुटी ? कस्तो जाँगर ? अनि समृद्धि उन्मुख कस्तो हेर्नलायक रफ्तार ? यस्तो गतिशील देशमा समृद्धिको गति नै रोक्ने गरी अनशन बस्ने त भँडुवा नै हुन नि ! यस्ता भँडुवालाई किन जीवित राख्नु ? सरकार ! यिनको हत्या गरे हुन्न ?

करोड रुपियाँ सम्म खर्च गरेर छोराछोरीलाई(विशेष गरी छोरालाई) डाक्टरी पढाउनेहरुको कमी छैन नेपालमा । सन्तानको डाक्टरी पढाइमा करोडको लगानी गरे पछि अरबको आमदानी सुरक्षित रहेको देश हो नेपाल । नपत्याए एउटा प्राइभेट अस्पतालको टिकटको मूल्य हेर्नुहोस् । उसै पनि सबै डाक्टर गोविन्द के सी जस्ता मूर्ख कहाँ हुन्छन् र सेवा सेवा सेवा मात्र भन्ने ? रह्यो कुरो गरिबका छोरा छोरीले डाक्टरी पढ़न पाउने कि नपाउने भन्ने ? त्यो कल्पना नेपाल देशमा नगरे पनि हुन्छ ।

यसर्थमा हेर्दा धनीहरु बस्ने गरिब देशमा डा. के सीका मागहरू नै असान्दर्भिक लाग्छन । एउटा निश्चित नियम कानुन नभएको देश,जहाँ जनताका काम गर्न भनेर सरकारी तलब र सुविधा खाने गरी निर्वाचित भएर गएका सांसदले खुलेयाम शिक्षा र स्वास्थ्य(जुन जनताका मौलिक हक हुन) मा व्यापार गर्न पाउँछन,जहाँ जनप्रतिनीधिले जनताको कर बाट जम्मा भएको राज्यकोषको जस्तो सुकै दोहन गर्दा पनि कुनै कानुनले छुन सक्दैन,जहाँ लुट मच्चाउनेहरुकै पक्षमा अधिकांश मिडिया र सामाजिक सञ्जालका युवाहरू उभिन्छन त्याहाँ गोविन्द के सी जस्ता जनसेवा बाहेक दिमागमा अर्थोक नभएका मान्छेले जन्म नै लिन नहुने हो । त्यो ठाउँमा उनी गलत हुन वा उनी जन्मिएको धर्ती नै गलत हो,अन्योल भयो । सरकार ! यो अन्योल हटाउन पनि यिनलाई हटाउन पर्ने भो । यिनको हत्या गरे हुन्न ?

अमरशिंह,बलभद्रहरुले ज्यानको बाज़ी थापेर अंग्रेज़बाट देश बँचाएको इतिहास हामी यति दम्भका साथ ठूलठूलो स्वरमा पढ्छौं कि यस्तो लाग्छ, हामी नेपाली संसारकै समृद्ध र सुरक्षित देशका नागरिक हौँ । तर तिनै योद्धाहरुको अवस्था युद्ध पश्चात् कस्तो भयो,इतिहासले वर्णन गर्न कन्जुस्याईं गर्‍यो । देश बँचाएका योद्धालाई राज्यले चिनेको भए एक जना पंजाब फ़ौजमा भर्ती भएर पाकिस्तानमा र अर्का गोसाईंकुन्डको शिरमा निर्मम मरण मर्दैनथे होला ।

लेखक गिरी

जसले जे भनोस यो देशमा बलभद्र,अमरशिंह,भीमसेन थापाहरुको ख़ासमा हत्या नै भएको हो । मृत्युका कारण अन्य होलान्,उनीहरूको अन्त्य राज्यद्वारा हत्या गरेरै गरिएको ठहर्छ । चार शहीदहरुलाई त तत्कालीन जल्लाद राज्यसत्ताले हत्या गर्‍यो, त्यसमा गुनासो रहेन । जनताको जीवनस्तर फेर्ने व्यवस्था ल्याउने भनेर पटकपटक गरिएका आन्दोलनमा कैयौँ गरिब नेपालीका सन्तानले आफ्नो ज्यान गुमाए,त्यसको पनि लेखाजोखा रहेन । तर मदन भन्डारी,राजा बिरेन्द्र देखि सुशील कोइराला सम्मको रहस्यमय हत्या भएको देश हो यो । यहाँ गोविन्द के सी को हत्या हुनुलाई त्यति ठुलो रूपमा पनि नलिइएला । त्यसैले सरकार ! यिनको हत्या गरे हुन्न ?

जहाँ देशको चिन्तन गर्ने प्रत्येक नागरिक आफै भित्र मरेको छ,आफ्नो र आफ्ना सात पुस्ताको चिन्तन गर्ने नागरिक चाहिँ खुब जमेको छ । जहाँको राज्य सत्तामा राष्ट्रवादको मुकुन्डो लगाएका स्यालहरुको रजाईं छ । जहाँ प्रत्येक इमानदार नागरिक आफै भित्र रुन्छ,बिलौना गर्छ,विरक्त छ,मरेतुल्य छ । जहाँ नागरिकका सपनाको आकार झन् पछि झन् घट्दो छ,सबथोक त्यागेर पराइ देशमा शरणार्थी बन्नेहरुको भिड दिनानुदिन बढ्दो छ ।

जहाँ देश बने,व्यवस्था राम्रो बने त हाम्रा सन्ततिको भविष्य राम्रो बन्थ्यो भन्ने नागरिकहरू घट्दै गइरहेक़ा छन् । जहाँ कुन दलको छायाँमा बसे कता बाट आर्थिक,सामाजिक र राजनीतिक लाभ मिल्छ भनेर प्रत्येक नागरिक आज जानी जानी आफूलाई दास बनाउन अभिशप्त छ । स्थिति यस्तो सृजना गरिएको छ -‘या दास बन,या आत्महत्या गर’ । जो दुवै बन्न सक्दैनन,उनीहरू बन्ने भनेकै पागल हो । डा. के सी लाई यो उपाधि पहिलै प्राप्त भएको हो । हो, त्यही समृद्ध, सज्जन,पहूँचवाला अनि धनीमानीहरु बस्ने देशमा पागलको के काम ? सरकार ! यिनको हत्या गरे हुन्न ?

प्रत्येक देशको चिन्तन गर्ने नागरिकलाई छोप्दै गोली हान्दै गरे हुन्न ? किन घिटिघिटी पारिरा’को ? हामीलाई थाहा छ,सत्याग्रहमा ढलिरहेका गोविन्द के सीलाई काँचका स्क्रीनमा हेर्दै,मुसुमुसु हाँस्दै,खिसिट्यूरि गर्दै,पाण्डे काजीहरुलाई व्यापार जोगाइदिने फोनकलहरु गर्दै सोझा के सीलाई जूस खुवाएर फकाउने कागज तयार पार्दैछौ सरकार तिमी । आज या भोलीमा त्यो कागज र केही कागजी काम गर्नेहरु बोकेर जीर्ण बनेका के सी लाई फेरि एक पटक झुक्याउन तिमीहरू आउनेछौ ।

भो, अब त्यसो नगर । बरु सिध्याइदेऊ एकै झप्कामा ती केही नभएका जोगी डाक्टरलाई । अघि पछि केही र कोही नभएका उनको लागि सडकमा टायर बाल्ने पनि कोही हुने छैनन्,रेलिंग भाँच्ने पनि कोही हुने छैनन् । ती सबै तिम्रा ठुला साम्राज्यका वफ़ादार सेनापति बनिसकेका छन् । ती जोगी डाक्टरको पक्षमा त केही आफै भित्र जलेका,आफै भित्र मरेका अनि तिमीहरूको पटकपटकको जीत देखेर हैरान भएर बसेका अशक्त नागरिक मात्र छन् । त्यसैले डर नमान सरकार ! यिनलाई हत्या नै गरिदेऊ,घिटीघिटी नपार !

उक्त  विचारलाई हिमालपोस्टको अनुमति बिना कुनै पनि अनलाईन वा सामाजिक संजालमा साभार गरीयमा कडा भन्दा कडा कारवाही गरिने छ ।