बर्दगोरिया सेतीलोकमार्ग पहिचान महोत्सव सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बर्दगोरिया सेतीलोकमार्ग पहिचान महोत्सव सम्पन्न



बौनिया ,कैलाली । कैलालीको बौनियामा जारी बर्दगोरिया सेतीलोकमार्ग पहिचान महोत्सव सम्पन्न भएको छ । पौष २२ गते देखि सुरु भएको महोत्सवको शनिबार सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दबहादुर साउँदले समापन गरेका हुन् ।

सो अवसरमा प्रदेश सांसद साउँदले बर्दगोरिया सेतीलोकमार्ग पहिचान महोत्सव कृषि, पर्यटन, पूर्वाधार बिकास निर्माण र आर्थिक समृद्धिका लागि उपलब्धिमूलक भएको बताए ।
निर्माणाधिन अवस्थामा रहेको सेतीलोकमार्ग निर्माणका लागि स्थानीय, प्रदेश र संघीय गरि तीनै तहको सरकारबाट पहल भइरहेको बताउँदै सांसद साउँदले बर्दगोरिया क्षेत्रबासीको अपेक्षा पूरा हुनेमा बिश्वस्त रहन आग्रह गरे । हामीले बिकास निर्माणका थुप्रै योजनाका लागि पहल कदम गरिरहेका छौं उनले भने- “लामो समय जनप्रतिनिधि बिहिन भएकाले बिकास हुन सकेन अब,बिकास निर्माण कार्यले छिट्टै गति लिन्छ ।”

महोत्सवले बर्दगोरिया पर्यटकीय क्षेत्रको बिकासमा सहयोग पुगेको, कृषि, ब्यापार, पर्यटन प्रबर्द्धन लगायतका क्षेत्रमा टेवा पुगेको उनले बताए । राष्ट्रिय गौरवको सडक परियोजना सेतीलोकमार्ग निर्माण भए यसले अन्तरदेशीय ब्यापारको मार्ग प्रशस्त गर्ने र प्रमुख ब्यापारिक केन्द्रलाई जोड्दै आर्थिक बिकास र समृद्धिको वातावरण सृजना हुने बताए । बर्दगोरिया क्षेत्र थुप्रै सम्भावना बोकेको क्षेत्र भएकाले बिकास निर्माणका लागि मेला र महोत्सवको माध्यमबाट सरकारको ध्यानाकर्षण गरेको भन्दै आयोजक बौनिया बजार ब्यवस्थापन समितिलाई धन्यवाद समेत व्यक्त गरे ।

१२ दिनसम्म संचालन भएको महोत्सव अवधिभर करिब ५० हजार दर्शकहरूले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक एवं बौनिया बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सांसद नन्दबहादुर साउँद रहेका थिए भने, विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौरा रहेका थिए ।

बौनिया बजार ब्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष अमर बमको स्वागत मन्तव्यसंगै सुरु भएको समापन कार्यक्रममा दलित एकता मंच बर्दगोरियाका अध्यक्ष पुस्कर सुनार, नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष धीरज शाही, नेपाली कांग्रेस बर्दगोरिया सभापति गणेश शाही, नेकपा बर्दगोरिया अध्यक्ष रामबहादुर साउँद, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष गीता सोडारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन महासचिव दिनेश भण्डारीले गरेका थिए । कृषि, ब्यापार, संस्कृति र पर्यटनको बिकास ‘निर्माणाधिन सेतीलोकमार्गको निकास’ भन्ने मूल नारा सहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्ला जोड्ने सेती लोकमार्गको निर्माण र बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारको ध्यानाकर्षण गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

बिगत वर्षमा १० दिनसम्म सञ्चालन हुने महोत्सव यसबर्ष वर्षाका कारण प्रभावित भएपछि २ दिन लम्बिएको थियो । महोत्सवमा विभिन्न ब्यसाय, संघसंस्थाको प्रवर्द्धन र प्रचार प्रसारमूलक ब्यापारिक स्टल, कृषि प्रदर्शनी र रमाइलो मेलाको राखिएको थियो ।

महोत्सव पूर्णरूपमा सफल भएको र स्थानीय कला, संस्कृतिको प्रबर्द्धन र पर्यटनको बिकासमा समेत टेवा पुगेको आयोजकले दाबी गरेको छ । महोत्सवमा विभिन्न कलाकारको प्रस्तुतिले जनचेतनामूलक सन्देश दिएको, सामाजिक सद्भावमा समेत महत्त्वपूर्ण भूमिका खेलेको सहभागिले समेत बताएका छन् ।