शाहरुखले लिए दैनिक ३० हजारलाई खाना खुवाउँने जिम्मा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शाहरुखले लिए दैनिक ३० हजारलाई खाना खुवाउँने जिम्मा



एजेन्सी- भारतमा कोरोना भाईरसको संक्रमण तीव्र बढिरहेका बेला २१ दिनका लागि मुलुक लकडाउन गरिएको छ । धेरै भारतीय मजदुर भोकै बस्नुपर्ने अवस्था आएको छ ।

यसैक्रममा बलिउडकर्मीहरूले विभिन्न आर्थिक सहयोग गरिरहेका छन् । अभिनेता अक्षय कुमार, सलमान खान पछि अर्का अभिनेता शाहरुख खानले पनि शुक्रबार आफ्नो र आफ्नो कम्पनी रेड चिल्लीका तर्फ कोरोनाविरुद्ध सहयोगको घोषणा गरेका छन् ।

अभिनेता शाहरुखले आर्थिक सहयोगसँगै विभिन्न सामग्री र खाद्यान्नको घोषणा गरेका छन् । शुक्रबारबाटै लागू हुनेगरी उनले एक महिनासम्म मुम्बईका ५५ सय विपन्न परिवारलाई दैनिक खाना खुवाउने जिम्मा लिएका छन् ।

उनीहरूलाई अब शाहरुखको कम्पनीले खाना खुवाउनेछ । ५५ सय परिवारमा करिब ३० हजार व्यक्ति छन् ।

यस्तै, भारतमा पनि अहिले पर्सनल प्रोटेक्टअन्तर्गत अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५५ हजार पीपीई दिने भएका छन् । यसैगरी, यही संख्यामा उनले कोरोना भाइरस परीक्षणका लागि किट्स पनि प्रदान गर्ने भएका छन् ।

यस्तै, त्यहाँको अस्पतालमा कार्यरत २५ सय जनालाई एक महिनासम्म उनले खाना खुवाउने जिम्मा लिएका छन् । उनले ट्वीटमार्फत यस्तो घोषणा गरेका हुन् ।

एसिड पीडितहरूलाई लामो समयदेखि सहयोग गर्दै आएका यी अभिनेताले अहिले कोरोनाविरुद्ध ठूलो मात्रामा सहयोग सुरु गरेका छन् ।

अभिनेता शाहरुखले कोरोनाविरुद्ध प्रधामन्त्री कोषमा र महाराष्ट्रका मुख्यमन्त्री कोषमा पनि आर्थिक सहयोग प्रदान गरेका छन् । तर, आफूले कोषमा दाखिला गरेको रकमबारे उनले खुलाउन चाहेका छैनन् । सरकारलाई भने जानकारी गराएको उनको भनाइ छ ।