बैंकको ब्याजदर बढ्ने हल्लाले बजारको बिजोग - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

बैंकको ब्याजदर बढ्ने हल्लाले बजारको बिजोग



काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ।

आज नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो २ कारोबार दिन उकालो लागेको नेप्से, यसदिन भने ५७ अंक घटेर १९२४.४८ विन्दूमा पुगेको हो। यसदिन सेन्सेटिभ इण्डेक्स ११.२३ अंक, फ्लोट इण्डेक्स ३.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१२ अंक बढेको छ।

नेप्से ओरालो लागेपनि कारोबार रकम भने उल्लेख्य बढेको छ। यस दिन २३२ स्टकको ३५ हजार ५३७ पटकको कारोबारमा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँ बराबरको ६९ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएको छ।

सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ४.१२ प्रतिशत बढेको छ। त्यसैगरी, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब ४ प्रतिशत बढेको छ। एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई मूल्य यसदिन सर्वाधिक ८ प्रतिशत घटेको छ।

कारोबारमा आएको समृद्धि फाइनान्स र श्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जानकारी दिएको छ।

कारोबार रकमका आधारमा यस दिन लक्ष्मी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको २१ करोड ५० लाख रुपैयाँ बराबरको सेय खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन रिडी पावरको ११ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.२४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

नेपाल बैंकर्स संघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने गरी गर्दै आएको भद्र सहमति खारेज गरेसँगै बजार ओरालो लागेको सेयर बजार जानकारहरुको बुझाई छ।

वाणिज्य बैंकहरुले गत फागुनदेखि निक्षेपको ब्याजदर बढाएका थिएनन्। बैंकहरुले पछिल्लो ६ महिनासम्म मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिँदै आएका थिए। सोही समहति बैंकहरुले खारेज गरेका हुन्।