जितलगत्तै सोबिताको प्रतिक्रिया: लोकतन्त्रमा कसैको हार हुँदैन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जितलगत्तै सोबिताको प्रतिक्रिया: लोकतन्त्रमा कसैको हार हुँदैन



राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा रहिन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा सीमित बनिन् ।

निर्वाचित भएपछि उनले प्रतिस्पर्धी साथीहरूलाई बधाई दिँदै उनीहरुले उठाएका महत्त्वपूर्ण सवालहरूलाई संसद्मा पैरवी गर्ने विश्वास दिलाएकी छिन् ।

अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भए पनि लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय नहुने उनले जिकिर गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ’०७९ मङ्सिर ४ मा सम्पन्न सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा यस क्षेत्रका सम्पूर्ण मतदाता आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हृदयदेखि आभार प्रकट गर्दछु ।

आम नेपालीजनको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि असीम भरोसा राख्नुभयो । तपाईंहरूको त्यही भरोसाले मलाई थप जिम्मेवार बनाएको छ ।

मलाई विश्वास गरेर मेरो चुनावी अभियानमा सक्रिय सहभागिता जनाउनुहुने सबै प्रियजनमा हार्दिक आभार व्यक्त गर्दछु ।

लोकतान्त्रिक व्यवस्थाअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत म अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भएकी छु । लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय हुँदैन । अब्बल प्रतिस्पर्धाका लागि म मेरा प्रतिस्पर्धी साथीहरूलाई बधाई दिँदै तपाईंहरुले उठाउनुभएका महत्त्वपूर्ण सवालहरूलाई संसद्मा पैरवी गर्ने विश्वास दिलाउन चाहन्छु ।

आफ्नो तथा पार्टीको घोषणापत्रमा उल्लेख गरेबमोजिमका बाचा पूरा गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन अनि समाजमा शान्ति, समता तथा न्याय स्थापित गर्नमा मैले अबको पाँच वर्ष लगाउनेछु । यस कर्ममा यहाँहरूको भरपूर साथको आशा राखेकी छु ।

धन्यवाद !’