कथा : अनामनगरको 'कोठी' - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

कथा : अनामनगरको ‘कोठी’



-केशु खण्डलु

रत्नपार्कको आकाशे पुलमा बसेर उसले एकपल्ट आकाश नियाल्यो । निलो आकाश छर्लङ्ग देखियो । बादलहरु कतै देखिएनन् । घाम ठ्याक्कै थानकोटको शिरैमा थियो । कुनै युवतीको शिरमा थपक्क बसेको सुनैको शिरफुलजस्तो । उसले घामतिर एक नजर फ्याँक्यो । अनि लामो सास तान्यो । आफ्नो नजर दाहिने हातमा रहेको घडीतर्फ झुकायो । घडीले ४ बज्नै आँटेको जानकारी दियो । ऊ त्यहाँ बसेको २–३ घन्टा भैइसकेको थियो । अझै कति बस्नुपर्छ थाहा थिएन । कालो जिन्स पाइन्टको देब्रे गोजीबाट सेतो कभर भएको मोबाइल निकाल्यो । साथीलाई फोन गर्यो । पहिलो घन्टी गयो । रिसिभ भएन । दोस्रोपटक दोस्रो घन्टीमा फोन काटियो । उल्टै नरम स्वरमा जवाफ आयो,’ तपाईले सम्पर्क गर्न खोज्नुभएको नम्बर अहिले व्यस्त छ ।’

अब भने उसको मन आत्तिन थाल्यो ।’
अझै कति बस्नुपर्छ ? कमसेकम आफू भ्याउंदैनथ्यो भने किन कुराईराख्नु ? जत्ति पनि होटल थिए त काठमाडौमा ।’ मनमनै सोच्यो । साथी लिन आउदैन कि भन्ने शंका र डर उसको मनमा ओहोरदोहोर गरिरह्यो । फेरि सोच्यो, साथी त्यस्तो मान्छे त होइन । उसले धोका दिन सक्दैन । फेरि आफ्नै मन बुझायो । जिन्दगी भनेको मन बुझाउँदै त बित्ने रहेछ । फेरि उसले जानेको राम्रो काम भनेको नै त चित्त बुझाउनु थियो । आकाशे पुलबाट गाडीहरुको ओहोरदोहोर हेरिरह्यो ।

साँझ पर्न लागिसकेको थियो । गाडीहरुको घुइँचो बढेको थियो । त्यति धेरै गाडीहरु कहाँ पुग्न हतार गरेका होलान् ? कसैलाई थाहा छैन । नढाँटी भन्नुपर्दा राजधानीमा कसैलाई कसैको वास्ता हुँदैन । यहाँ केवल एउटा सिद्धान्त लागू हुन्छ, जसरी भएपनि आफू दौडिनुपर्छ । अरुलाई जित्नुपर्छ । तर किन जित्नुपर्छ ? त्यो पनि कसैलाई थाहा छैन । केवल दौडिरहनुपर्छ । उसले दौडिरहेको गाडी हेरिरह्यो ।

सानोमा सङ्गै स्कुल पढेको साथी हो, जुन साथीलाई उसले पर्खिरहेको छ । नाम सुरज । सानोमा एकछिन नछुट्ने साथी । नभेट्दा खोजी हाल्ने साथी । एउटा बिरामी हुँदा सङ्गै हेल्थपोष्ट जाने तर स्कुल नजाने साथी । कतै बठ्याई गर्न जाँदा नछुट्ने साथी । सानोमा सङ्गै ठूलो मान्छे बन्नुपर्छ भन्ने सपना देख्ने साथी । सपना देखाउने साथी । तर सपनाहरु त्यत्ति सस्तापनि कहाँ हुन्छन् र, देख्यो कि पूरा भैहाल्ने । तिनिहरुको ठूलो मान्छे बन्ने सपना पूरा भएन । साथीले भने सानोतिनो पत्रकारिता गर्छ । दिनभरी सामग्री खोज्न गल्ली गल्ली डुल्छ । साँझ युट्युबमा राख्छ । युट्युब बाटै आफ्नो सानो भुँडी भरेको छ । जे होस्, साथीले ठीकै गरिरहेको छ राजधानीमा बसेर । उसले साथीको सानो प्रगतिमै आफू खुशी हुने आधार भेट्छ ।

उसले केही दिन अगाडि काठमाडौ आउने कुरा बताएको थियो साथीलाई । सायद साथीको खुशीले दशगजा पनि पार गरिसकेको थियो । ’या….हु !’ फोनमै जोडले चिच्याएको थियो । र भनेको थियो,
ुमेरो मै बस्नुपर्छ । बसुन्जेल मोज गर्नुपर्छ ।’

धेरै समयपछि प्रत्यक्ष भेट हुनेवाला थियो । सायद ३ बर्षपछि । भर्चुअल दुनियाँको जमाना । तर सङ्गै हँुदाको जस्तो खुशी फेसबुक, म्यासेन्जर, इमोमा कहाँ ? यी सामाजिक संजालको दुनियामा केवल इमोहरु न साटिने हुन्, इमोसन्स् कहाँ साटिनु ? साथीको आग्रहमा कहिल्यै नाई भन्ने जवाफ पनि आएन । काठमाण्डौ बसुन्जेल साथीसङ्गै बस्ने योजना बनायो ।

’आउनु अगाडि फोन गर्नु । म लिन आउछु ।’ अस्ति साथीले यस्तै भनेको थियो ।
’म आज नै आउदैछु यार । लिन आउछस् नि है ?’ हिजो उसले खबर गरेको थियो । साथीले केही चिन्ता नलिन र ढुक्क हुन भनेको थियो ।

बसपार्कमा करिव १२ बजे बस आइपुगेको थियो । बसबाट ओर्लिने बित्तिकै साथीलाई खबर गर्यो । साथीले आज नयाँ फिल्मको प्रेसमिटमा रहेको जानकारी गरायो । त्यसो भए यतै होटलमा बस्छु भन्यो उसले ।
’साथी हुँदा हुँदै किन होटलमा बस्नु ,?’ साथी झर्कियो । साथी रिसाएको उसले कहाँ हेर्न,सुन्न सक्थ्यो र ? मनै त हो, पग्लिहाल्यो ।
’रत्नपार्क आएर बस्नु । म ५ बजे भित्र आइपुग्छु अनि कोठातिर जाम्ला ।’ साथीले भन्यो ।
’कोठा कहाँ हो र ?’ उसले औपचारिकता मात्रै पूरा गर्यो । नत्र साथीको जवाफसङ्ग उसलाई के सरोकार । नाम थाहा भएपनि ठाउँ चिनेको छैन ।
’अनामनगर हो । तैले जान्दैनस् । त्यही बस् न । म आईहल्छु त ।’ साथीको अर्डर आयो । उसले कुर्न थाल्यो ।
उसले फेरि घडी हेर्यो । पौने ५ भैसकेको थियो । साथी अझै आइसकेको थिएन । अब भन्ने उसको शंकाको नेप्से उकालो लाग्यो । साथी आउँदैन कि भन्ने असी प्रतिशत ढुक्क भयो । फेरि केही समय कुरौ न जस्तो लाग्यो । कतै आइपोहाल्छ कि, साथी ? त्यसो त साथीले कहिल्यै धोका दिएको छैन उसलाई । ऊ घण्टाघर तिर नजर तेर्स्याउदै बस्यो ।
०००

साथी आउने छाँट देखिएन । बरु एउटी अपरिचित युवती दरबारमार्गबाट आई । उसले नियाल्न पाएको थिएन, सिंढीमा उक्लिसकी । ऊ नजिकै आएर पुलको बारमा आडेश लगाउन थाली । दुबैजनाको नजरको बिन्दु घन्टाघरको टुप्पोमा गएर मिल्यो । उसले त्यस युवतीले थाहा नपाओस् भन्ने उद्देश्यले शिरदेखी पाउसम्म नियाल्यो । घुँडासम्म आएको खैरो लेदरको जुत्ता, कालै जिन्स पाइन्ट । कालै टिसर्ट । कालै लेदरको ज्याकेट । गोरो अनि बाटुलो मुहार । नाक हल्का थेप्चिएको । आँखा मसिना मसिना । शिरमा कालो रेवनको चस्मा । तर मोहनी रुप । मुहार हेर्दा कुनै मंगोल युवतीजस्ती । हुलिया हेर्दा हलिउडको कुनै अभिनेत्री जस्ती । उसले उमेरसमेत अनुमान गर्यो । तर अनुमान २१ भन्दा माथी चढ्न सकेन ।

गाडीको कर्कश र मान्छेको कोलाहल । अरुमा दुबैले ध्यान दिएनन् । बेलाबेला उसले युवतीलाई हेरिरही । युवतीले पनि उसको हेराईको किस्ता किस्तामा ब्याज चुक्ता गरिरही । यसपटक युवतीले उसलाई मज्जैले नियाली । युवतीले नियालेपछि उसले पनि आफैलाई एकपटक नियाल्यो । कालो कन्भर्स जुत्ता । कालो जिन्स पाइन्ट । एउटा रातो हुट । अनि साथमा एउटा झोला । झोला भर्खर आफुभन्दा ठूलो आहारा खाएको सर्पजस्तो । पहिलोपटक राजधानी जो आएको थियो ।

केहिबेर पछि केटीले मुख खोली, ’सोल्टी, जाने हो ?’।
ऊ अचम्ममा पर्यो । युवतीलाई आश्चर्यमिश्रित भावले हेर्यो । उसको बोली फुटेन । उसले युवतीलाई हेरिरह्यो ।
’जाने हो?’ फेरि युवतीले प्रश्न अघि सारी ।
’कहाँ ?’ उसलाई त्यत्ती छोटो जवाफ फर्काउन मिनेट लाग्यो ।
’ कुनै चिनेको होटल छ ?’ युवती धेरै अगाडि बढिसकी ।
’ छैन ।’ उसले फेरि छोटो जवाफ दियो । उसले शहरको बारेमा कथा सुनेको थियो । तर त्यही शहरको साक्षी आफै बन्नुपर्ला, सोचेको थिएन ।
’गाउँबाट आ’को हो ?’ युवतीले ठूलो झोला हेर्दै सोधि । आफुलाई युवतीले गरेको ’तिमी’ सम्बोधन चित्त बुझेन । यद्यपि ’उम’ को भावमा मुन्टो हल्लायो ।

युवतीले होटलको प्रसंग जोडेपछि नै उसले मतलब बुझिसकेको थियो । ऊ आफै पनि हट्टाकट्टा शरीरको ठिटो । खाइलाग्दो ज्यान । तातो खुन । जोशले भरिएको २४ र २५ बिचको उमेर । अगाडि सुन्दरी युवती । उसले आफ्नो पुरुष मनलाई कावुमा राख्न सकेन ।
’ कति हो र ? ’ सजग भएर सोध्यो ।
’पैसाको कुरा पछि गरौंला । अहिले जाऔं यहाँबाट ।’ युवतीले जवाफ फर्काई ।
’कहाँ जाने त ?’ उसले फेरि प्रश्न थप्यो ।
’अनामनगर जाम्ला । मेरै कोठामा । कसैले सोधे गाउको साथी हो भन्दिन्छु । तिमिले कुरा नबिगार्नु । ’ युवतीको कुरा उसलाई सहि लाग्यो । फेरि साथीले कोठा अनामनगर नै भनेको थियो ।
’तिम्रो कोठा अनामनगर नै हो त ?’ उसले एकपटक रुजु गर्यो । युवतीले पक्काको संकेत गरि । दुबैजना सिढी ओर्लिए । युवतीले ट्याक्सी रोकी । ट्याक्सी नजिकै आयो । तिनिहरु भित्र पसे ।
’म अनामनगर हिडिसके । आइपुगेसी फोन गर्छु ।’ उसले साथीलाई म्यासेज गर्यो । लगत्तै मोबाइल फ्लाइट मोडमा राख्यो ।
’दाई, गाना बजाउनुस् न । अलि ठूलो भोलुममा ।’ युवतीले ट्याक्सी चालकलाई भनी । ट्याक्सी चालकले गीत बजायो, ’ ढल्न देउ, ढल्न देउ तिम्रो रुपको वदनमा…!’

चालक आफ्नै सुरमा गाडी चलाउदै थियो ।

’अब हामी कुरा गर्न सक्छौं । मेरो केही शर्तहरु छन् । त्यो तिमिले पालना गर्नुपर्छ ।’ झ्यालबाट बाहिर नजर फ्याक्दै युवती बोली ।
’ कस्तो शर्त हो नि ।’ उसले अप्ठ्यारो मानेर प्रश्न गर्यो । ’पहिले भन न !’
युवती सुस्तरी बोली । सायद चालकले नसुनोस् भनेर । भनी,
’ ५ हजार चाहिन्छ । काम सकिने बित्तिकै तिमी मेरो कोठाबाट निस्किनुपर्छ । तिमिले मेरो बारे सोध्न पाउनेछैनौ । र अब भोलिदेखी न तिमी मलाई चिन्नेछौ न म तिमिलाई चिन्नेछु । शर्त मन्जुर छ ?’
ऊ धेरै बेर तल्लो ओठ टोकेर सोचिरह्यो । अनि ’छ’ को भावमा टाउको हल्लायो ।
’ नाम के हो नि ?’ युवतीले आफ्नो अधिकार प्रयोग गरिसकी ।
’हिरा बहादुर ।’ उसले जवाफ फर्कायो ।
’तामाङ्ग हो ?’ उसको आँखातिर हेर्दै युवतीले सोधी ।
’होइन ।’ उसले जवाफ फर्कायो।
’गुरुङ ?’ फेरि सोधी ।
’मगर ।’ यतिखेर साँचो जवाफ दियो उसले ।
’अनि के गर्न आको नि काठमाण्डौ चाहिँ ?’ युवतीले प्रश्नको इट्टा थपिरही ।
’ पासपोर्ट बनाउन ।’ उसले सहि जवाफ दिइरह्यो ।
’अनि पासपोर्ट बनाउन आको मान्छे किन यस्तो काममा भुलिरा’को ? कति सपना बोकेर आको होला ?’ युवती झ्यालमा आडेश लाएर निधारमा हात राखेर बोली । ऊ थोरै लजायो । र आफै माथि हीनताबोध गर्न थाल्यो । सोच्यो, ट्याक्सी रोकेर झरिदिन्छु जस्तो । फेरि सोच्यो, यो सब भैइरहने कुरा न हुन् । आफुले आफुलाई सम्हाल्यो । र हाँसे जस्तो गर्यो ।
’घरमा को को हुनुहुन्छ नि ?’ युवतीले फेरि प्रश्न राख्न छाडिन ।
’कोही हुनुहुन्न ।’
’हावा कुरा नगर न यार ।’ युवतीले केरकार गर्न छोडिन ।
’हो, कोहि छैन । म एक्लै छु ।’ उसले युवतीको प्रश्नको सहि उत्तर दिइरह्यो । युवतीले भने उसको कुरा मान्न तयार भैइन । सोझो जो थियो ऊ । उसले आफ्नो बिगतको एक कहानी सुरु गर्यो ।

०००

उनीहरुको एउटा परिवार थियो । चारजनाको । सुखी परिवार । खुशी परिवार । उसको बुवा गाउँकै प्राथमिक विद्यालयमा पढाउँथे । आमा यशोदादेवी घर गृहस्थी गर्थिन् । छोराछोरी हेर्थिन । ऊ अर्थात् हिरा बहादुर कक्षा २ मा पढ्थ्यो । बहिनी तारा बालिका थिइ । भर्खर ९–१० महिनाकी । बुवा अस्थायी मास्टर थिए । तर मास्टरलाई दिनुपर्ने सम्मानमा गाउँलेहरुले कहिल्यै कमी गर्दैनथे । सबैले सम्मान गर्थे । धन दौलत त के कमाउनु, इज्जत, प्रतिष्ठा, मनसम्मान टन्नै कमाएका थिए । ऊ पनि पढाईमा मिहिनेती थियो । केटाकेटीहरुले आफुलाई उसका बुवा नरबहादुर मास्टरसा’प जस्तो बन्ने सपना देख्थे । गाउँलेहरु आफ्नो छोरा हिरा जस्तै मिहिनेती होस् बन्ने चाहन्थे ।
एकदिन गाउमा एउटा खबर पस्यो । चैतमासको डढेलो जस्तै फैलियो खबर । देशको लागि क्रान्ति गर्न जंगल हिडेकाहरु गाउँ पस्यो । शिक्षक व्यापारी देखि जागिरेहरु सबैसम्म चन्दा उठाईयो । चन्दा नदिनेलाई सिधै थर्काईयो । धम्की दिइयो । कत्तिलाई बेपत्ता पारियो । कत्तिलाई मारियो ।

चन्दा माग्नेहरु उसको घरमा पनि नआउने कुरा भएन । मास्टर भनेर उसको बुवासङ्ग विस हजारको चन्दा मागियो । त्यो जमानामा विस लाख जस्तो लाग्ने । एउटा अस्थायी प्राविको मास्टरको तलब कत्ति पो हुन्थ्यो र ? त्यही माथि परिवार पाल्दा ठिक्क हुने । पहिलो भाका एकहप्तालाई दिइयो । बुवाले विस हजार रुपैयाँ जुटाउन सकेन । रिनै गरेर चन्दा दिने कुरापनि आएन । आखिर रिनै मागेपनि को को सङ्ग माग्नु ? सबैको हालत उस्तै थियो । फेरि अर्को हप्ता म्याद थपियो चन्दाको लागि । बुवाले कसैगरि चन्दा जम्मा गर्ने छाँट देखिएन । नगद जम्मा गर्न नसकेपछि बुवाले प्रतिकार गर्ने सोच्नुभयो । केहिदिनपछि कमान्डर सहित आए केही कार्यकर्ताहरु । उसको बुवालाई उठाएर लागे ।

उनीहरु बुवा भोलिसम्म आइपुग्ला भनेर आशाको घर बनाएर बसे । तर बुवा फर्केर आएनन् । उनीहरुको आशाको घर चर्किन थाल्यो । पर्सिपल्ट बुवालाई खोज्न आमा घरबाट निस्किनुभयो । आमा पनि फर्किनुभएन । अब भने उसको सपनाको घर गर्ल्यामगुर्लुम्ग ढल्यो । हप्तौ महिनौ दिनसम्म आमाबुवालाई कुरेर बसे । तर आमाबुवाको न सास भेटियो न लास । त्यसदिनपछि उसको जिन्दगीले अर्कै रुप लियो । सुरुको केही दिनहरु उसलाई गाह्रो भयो । बालिका बहिनीलाई लिएर जिन्दगी जिउन झन गाह्रो । निकै दुखका दिन झेले ।

केही समय गाउँ शान्त भयो । यही मौकामा लाहुर गएकाहरु गाउँ फर्किए । तिनिहरु इन्डियाको पन्जाबबाट आएका थिए । केही पैसा कमाएर । केही समय बसे गाउँमा । धेरै समय बस्न तिनैको डर हुने । फेरि लाहुर फर्किने बेला भयो । गाउँलेहरू धेरैले उनीहरु दाजुबहिनीको दुख देखिसकेको थियो । त्यसैले गाउँकै श्यामबहादुरले प्रस्ताव राखे । उसलाई लाहुर लाने । कोठीमा काम गराउने । काम सिकाउने । पैसा पनि हुने । काम पनि सिकिने । बुवाआमा नभएपनि घरको जेठो सन्तान । बहिनीको जेठो दाइ । बुवाआमा जे भनेपनि ऊ एउटै सहारा । काधमा बैनीलाई हुर्काउने जिम्मेवारी थियो । उसको कलिलो माष्तिष्कले ब्यबहारिक सोच देखाउनुपर्थ्यो । देखायो पनि । उसले प्रस्ताव स्वीकार्यो । बहिनी तारालाई काकीको जिम्मेवारमा छोडेर, एकरात ऊ पनि लाहुर लस्यो ।

उसले पन्जाबकै एउटा कोठीमा काम सुरु गर्यो । काकाले अर्को होटलमा काम गर्नुहुन्थ्यो । उसको सबै रेखदेख गर्ने काका नै थिए । तर गाउँमा बाहिनी तारालाइ कस्तो छ ? बुझ्न पाएन । उहिलेको समयमा अहिले जस्तो नेटवर्कको जमाना थिएन । हुलाककै जमाना । चिट्ठी पाउन र पठाउन महिनौं बर्षौंदिन लाग्ने । यता गाउँमा काकी एकाएक थला पर्न थाली । कतै नजिक हेल्थपोष्ट थिएन । रोग जचाउन कोशौ टाढा सदरमुकाम जानुपर्थ्यो । काकीले रोग जचाउन सकिनन् । रोग पत्ता लागेन । रोग पत्ता नलागेसी उपचार भएन । बिचरी ! काकीले परदेश रहेको काकालाइ सम्म खबर नपठाई संसार छाडिन् । अनि ताराको साह्रै बिचल्ली भयो । गाउँलेहरूले तारालाई शहरको अनाथलयमा बुझाए ।

करिब एकबर्ष पछि उनीहरू लाहुरबाट फर्किए । उसले सानी बहिनीलाई कति धेरै कोसेली लिएर आएको थियो । जब गाउँ आइपुग्यो, काकी र बहिनीलाई देखेन । उसले गाउँभरी खोज्यो । तर अहं, भेटेन । गाउँलेले सहि सुचना भनेपछि उसको आँखाबाट आँशुको धारा बगिरह्यो । उता काकाको हालत उस्तै । दोष कसलाई दिनु ? सायद दोष नियतिको न थियो ।

ऊ अनाथलय गयो, जहाँ बहिनी तारालाई राखिएको थियो । अनाथलयमा पनि तारालाई भेटेन । कोहि निस्सन्तान दम्पतीले आफ्नो बहिनीलाई लिएर गएको खबर पायो । उक्त दम्पतीको ठेगाना लिएर उसले शहर भरी खोजी गर्यो । तर अहं ! कतै फेला पर्न सकेन । यसरी उसको एउटा बाच्ने आशाको खम्बा ढल्यो । ऊ एक्लो भयो ।

यति सुनिसकेपछी युवती अलि भावुक जस्तै देखिइ । अनि भनी, ’अनि अरु के भयो त ? भन्न मिल्छ भने भन्नू नत्र नभन्नु ।’
केटोबेर टोलायो ।
त्यपसपछि उसले पन्जाबतिरै काम गरिरह्यो । पहिले कोठीमा । अलि ठूलो भएपछि होटलमा । उसले त्यतिन्जेलसम्म केही दाम र अनुभव कमाईसकेको थियो । एकदिन होटल मालिकसङ्ग झगडा भयो । तलबकै बिषयमा । धेरैले तिमिले काम आनुसार तलब माग्नुपर्छ
भने । उसलाई पनि तलब चित्त बुझेन । उसले मालिकसङ्ग कुरा राख्यो । मालिक रिसायो । धेरै अश्लील शब्दहरु बोले । तलब नदिएर होइन,मालिकको अपशब्दले उसको चित्त दुख्यो । त्यही दिन उ नेपाल फर्कियो । सोच्यो, यत्तिको मिहेनत अब आफ्नै देशमा गर्छु ।

एउटा युवा देशमै केही गर्छु भनेर फर्कियो । देशमा भने केही गर्ने वातावरण नै थिएन । देशमा राजनैतिक आस्थिरता थियो । बेरोजगारीहरुको टाउको दिनानुदिन बढिरहेको थियो । रोजगार सिर्जना हुनै सकेको थिएन । त्यसो त उसलाई ठुलै जागिर पनि चाहिएको थिएन । होटलमा गरेको अनुभव थियो उसङ्ग । ऊ नेपालमै होटल व्यवसाय गर्न चाहन्थ्यो । आफुसङ्ग चाहिंदो लगानी थिएन । अाँट्ले मात्रै के गर्नु ? जमाना त पैसाको आइसकेछ । उसले लोन लिएरै भएपनि गर्छु भन्यो । आखिर युवाको जोशलाई कसले पत्याउनु ? कसैले पत्याएनन् । उसलाई कसैले बिश्वास गरेन । लोन कतै पाईएन ।
’हेर बाबू ! यो देशमा केही हुनेवाला छैन । बरु बिदेश जाउ । म राम्रो ठाउँमा मिलाउछु ।’ एकदिन बिदेश पठाउने दलाल सुर्य बहादुरले भन्यो ।

’तर भेना । भरसक त यही गाउँमै केही गर्ने बिचार थियो ।’ उसले भन्यो ।
’हेर बाबू । गाउँमा जति नै गर्छु भनेपनि कहिल्यै सफल हुदैनौ । बरु बिदेश जाँउ । पैसा कमाउ । आउ अनि गर ।’ सुर्य बहादुरले भन्यो । ऊ निकैबेर टोलाईरह्यो ।
’फेरि बिदेश जान पैसा पनि धेरै नै चाहिएला भेना ?’
’जम्माजम्मी दुईलाख भए पुग्छ । त्यसको जिम्मा म मिलाउछु । तिमी चिन्ता नगर ।’ भेनाले कति सजिलैसँग भन्यो । उसलाई भने त्यो बिदेश जाने पैसाले यतै केही गर्न सकेको भए हुन्थ्यो भन्ने लाग्यो ।
तर साइनोले भेना । कहिलेकाही सानोतिनो अप्ठ्यारामा सम्झिरहनुपर्ने मान्छे । उसो त व्यबहरको नराम्रो मान्छेपनि होइन । उसै मार्फत गएका धेरैले घरजग्गा किने । खरको छानो फालेर टिनको हाले । ऊ सुर्य बहादुरको अगाडि बोल्न सकेन । उसले स्वीकृति जनायो ।
’बाबू ! अहिले दुबईको लागि सेक्युरिटी गार्डको लागि भिषा आको छ । छिटो प्रोसेस चल्नुपर्छ । म्याद धेरै छैन । बरु पासपोर्ट बनाउनु । अरु सबै ब्यबस्था म मिलाउछु ।’ सुर्यबहादुरले लामो वाक्य बोल्यो । अब उसलेपनि बिदेशीने मानसिकता बनाउन बाहेक अरु विकल्प भेटेन ।

ऊ सुरुमा जिल्ला प्रशासन कार्यलय पुग्यो । पन्जाब तिर जादा नागरिकता नभएपनि हुने । वडाको सिफारिसले काम चल्ने । अब नागरिकता बनाउनु पर्ने भयो । ४–५ जना मान्छे साक्षी राखेरै भएपनि नागरिकता बन्यो । तर जिल्लाबाट पासपोर्ट बन्न समय लाग्ने । यस्तै ३५ दिन जति । उसले काठमाडौबाट एकहप्तामै पासपोर्ट तयार हुन्छ भन्नेपनि थाहा पायो । र त्यसै दिन ऊ काठमाण्डौ आएको थियो ।

०००

साँझको बेला । काठमाण्डौमा जामै बढी हुने । सिंहदरबार आइपुग्दासम्म उसले आफ्नो सबै कहानी सुनायो । अलिअलि भावुक पनि बन्यो । युवतीपनी भावुक बनी । ट्याक्सी बल्ल सिंहदरबार अगाडि आइपुगेको थियो । युवतीले ट्याक्सी रोक्न लगाई ।
’टोपी छ ?’ युवतीले सोधी ।
’छैन ।’ ऊ बोल्यो ।
’कस्ता कस्ता नमुना भेटिन्छन् यार ।’ युवती यस्तै केही बोलेर बाहिर निस्की । मेडिकलमा गैइ । केही मिनेट बित्न नपाउदै फर्की । उसको हातमा इकोन् थियो । उसले आफ्नै पाइन्टको पकेटमा घुसाई । र ट्याक्सी बिस्तारै अगाडि बढ्यो ।

ट्याक्सीले सिंहदरबारलाई दाहिने पारेर फन्को लगायो । अनामनगरको बिगमार्ट पुग्नै लाग्दा युवतीले ड्राइभरलाई भनी,
’दाइ यहाँ रोक्दिनुस् ।’
ट्याक्सी चालकले भाडा माग्यो । ऊ आफैले हजारको नोट दियो । चालकले आफ्नो भाडा कटाएर बाकी पैसा फिर्ता गर्यो । युवती नजिकैको गल्लीबाट टाढै पुगिसकेकी थिइ । ऊ युवतीलाई भेट्न फटाफट हिड्यो । युवती गल्लीको भित्रपट्टी एउटा तीनतले घरमा पसी । ऊ उस्तै गरि गेटबाट छिर्यो । केटीको कोठा पहिलो तलामै । उनीहरुलाई कसैले देखेनन् । युवतीले ढोका खोली र पहिले उसलाई भित्र पठाई । आफुपनि पसी ।

युवतीको कोठा देखेर ऊ छक्क पर्यो । भित्तामा केही श्यमस्वेत फोटोहरु थिए । कुनै रङ्गीनपनि । फोटोमा युवती र अर्धबैषें आइमाई मात्रै देख्यो । सायद उसको आमा हुनुपर्छ । बुवासङ्गको फोटो भने उसले देखेन । सोध्ने आँट पनि गरेन । कलेज ड्रेस देखेपछि युवती बिद्यार्थी हुन् भन्ने उसले अनुमान लगायो । भित्ताभरि ह्याङ्गरमा थरीथरीका कपडा झुन्डिरहेको थियो । एउटा सानो खालको अर्मली । डबलबेड पलाङ्ग । र्याकहरु व्यवस्थित थियो । र्याकमा पुस्तकहरु समेत देखेर ऊ ट्वाल्ल पर्यो । उसले एकतमासले सबै नियालीरह्यो ।

’अब तिम्रो समय सुरु भयो । जे गर्नु छ, गर्नु ।’ युवती उसको नजिक आएर बोली । उसलाई भने खोइ किन, मानसिक रुपमा तयार हुन समय लाग्यो । एकटकले हेरिरह्यो । टोलाईरह्यो ।
’ ओ हेल्लो । यही रात कटाउने बिचार छ कि क्या हो ? तयार हुनुपर्दैन ?’ युवतीले आफ्नो कपाल मिलाउन थाली । बाहिरको कालो ज्याकेट भुइँमै फ्याकी । ऊ भने हेरिरह्यो । सायद उसलाई हेर्नू मै आनन्द मिलेको थियो कि ? युवती कालो टिसर्ट खोलेर अगाडि बढी । पाइन्ट अघि नै खोलिसकेकी थिइ । जब युवती एकसारो कपडा मै उसङ्ग टाँसिन आई । उसले खोइ के सोच्यो, युवतीलाई जोडले धक्का मार्यो । युवती भुईमा पछारिई ।

’तिम्रो नाम के हो ?’ उसले युवतीलाई सोध्यो ।
’शर्त बिर्सिस् ?’ युवती पनि के कम ? जांगिई ।
’मलाई तिम्रो बारेमा जान्नु छ ।’ उसले आफ्नै कपाल मुसार्दै भन्यो, ’ भन तिमी को हौ ? यस्तो काम किन गरिराछौ ?’
’साले । औकात देखाईस् होइन । तं आफ्नो काम गर्न आको । आफ्नो काम सकेर जा’ न ।’ युवतीले अरुपनि अपशब्द बोली । उसले केही बोलेन । कोठामा केहिबेर मौनता छायो ।

’मलाई तिम्रो बारे बताउ । म पनि तिम्रो कथा सुन्न चाहन्छु ।’ ऊ बोल्यो ।
’मेरो कथा सुनेर चाहिँ के गर्छौ तिमी ? मेरो बारे कथा लेख्छौ ? दुनियासामु मलाई चिनाउन खोजेको छौ ? कि मलाई माध्यम बनाएर आफू चर्चामा आउन खोजेका छौ ?’ युवती झन जांगिई । लगत्तै भावुक बनी ।

’ हेर, म त गाउँले मान्छे । आफ्नै जिन्दगीको गन्तव्य नभेटाएको एउटा यात्री । तिम्रो लागि गर्न त म केही सक्दिन । तर म जान्न चाहान्छु । तिमी को हौ ? कसरी यो पेशामा आयौ ? आफ्नै शरीर बेच्नु बाहेक अरुपनि त थिए होलान् नि यो शहरमा काम । दुनिया बाँचिरहेकै छ । के बाँच्ने आधार यही मात्र भेट्यौ ?’ ऊ थोरै भावुक भएर बोल्यो । युवतीको आँखाबाट पनि आँसु खस्यो । दुवै केहिसमय बोलेनन् । फेरि कोठामा केहिबेर मौनता छायो ।

’मेरो नाम तिर्सना कार्की । घर बुटवल ।’ धेरै बेरको शुन्यतालाई चिर्दै युवती बोली । ’ हाम्रो पनि एउटा परिवार थियो । तीनजनाको ।’ दाईपनि हुनुहुन्थ्यो, बित्नुभयो । बाँकी हामी तीनजना भयौ । बुवा आमा र म । बुवा सधै रक्सी खाएर घर आउनुहुन्थ्यो । घरमा जहिल्यै झगडा हुन्थ्यो । हुन त ९ बर्षकै कलिलो उमेरको छोरा गुमाउनु जत्तिको ठूलो पीडा अरु के हुन सक्थ्यो र ? त्यसो त दाई हाम्रो आफ्नै रगत थिएन । आमा पछि भन्नुहुन्थ्यो, दाईलाई अनाथालयबाट ल्याईएको हो । तर सम्बन्ध रगतले मात्रै बन्ने चिज कहाँ हो र ? जरुरी त आफ्नोपन पो हुन्छ ।

दाई बितेसी बुवाले आफुलाई सम्हाल्नै सक्नुभएन । एकदिन बुवाले पनि हामीलाई छोडेर जानुभयो । हामी दुईजना मात्रै भयांै । आमाले मलाई सुख दुःख गरि हुर्काउनु भयो । भोकै बसेर मेरै पेट भर्नुभयो । आफू कठ्यङ्ग्रीएर मलाई न्यानो दिनुभयो । आफू जागेर मलाई निदाउन दिनुभयो । आफुलाई जस्तो भएपनि मलाई सधै खुशी राख्ने कोशिश गर्नुभयो ।

बुटवलमा घर छ भनेर के गर्नु ? गरिवहरुको लागि के शहर के गाउँ ? घरको व्यबहार बिग्रिदै गएको थियो । म ठुली हुँदै गए । आमा घर व्यवहारले थिचिदै जानुभयो । आमालाई बिस्तारै रोगहरुले सताउन थाल्यो । बिरामी भैइरहनुहुन्थ्यो । एकदिन भरतपुर क्यान्सर हस्पिटल गयांै । आमाको चेकअप गर्यौ । उहालाई क्यान्सरले छोईसक्नुभएछ। म त त्यही दिन डरहरुले थिचिएकी थिए । त्यही दिन कमजोर भैइसकेकी थिए । फेरि आमा स्वयमले हिम्मत हार्नुभएको थिएन भने म किन भाग्नु । मलाई परिस्थितिबाट भाग्नु होइन, सामना गरेर अगाडि बढ्नु थियो । मैले आफुलाई मजबुत बनाउन थाले ।

आमालाई महिना–महिनामा किमो चढाईरहनुपर्छ । घरको सबैथोक बेच्यांै । तर आमाको उपचारको लागि खर्च जुटाउन सकेनौं । धेरै ठाउँमा काम खोजे । रिन खोंजे । भनेजस्तो काम पाइएन । न त कतै रिण नै पाइयो । काम पाइए पनि आफैले गर्न नसक्ने खालको पाइने ।
घरको एक्ली छोरी । फेरि आफ्नै आमाको मृत्यु कसरी हेर्नू ? मैले हिम्मत हारिसकेकि थिए । आमाको मृत्युको दिन कुर्नु बाहेक अरु उपाय थिएन ।

फेरि एकदिन एउटा व्यापारीले मलाई ठुलै रकमको प्रस्ताव राख्यो । मैले आफ्नो कुमारीत्व गुमाउने सर्तमा । सुरुमा त लाग्यो, गलत काम गरेर आमाको जीवन बचाउनुको के अर्थ ? यो काम गर्दिन । फेरि अर्को मनले सोच्यो, जीवनले पनि कहि पाप र धर्म भन्छ र ? फेरि आमाले अर्को जीवन पाओस् न, धर्म नै कमाउने दिनपनि त आउला । मर्नुभन्दा बौलाउनु ठीक जस्तो लाग्यो । यो भन्दा अरु उपाय पनि छ जस्तो लागेन । अनि मैले कुमारीत्व बेचिदिए पन्ध्र हजार । त्यसपछि मैले आफुलाई बेचिदिए ।

ठुला ठुला व्यापारीहरु आउँछन् । नेताहरु आउँछन् । शहरका धनाढ्य व्यक्तिहरु आउँछन् । तिमी जस्तो केटादेखि मेरै उमेरको नातिनी भएकाहरु सम्म आउँछन् । तिनीहरुलाई यौन सन्तुष्टीको चाहाना, मलाई पैसाको आवश्यकता । सोच्नेहरु जे सोचुन्, आफैलाई गलत गरे जस्तो कहिल्यै लाग्दैन । मैले आफ्नो आमाको जीवन किन्न आफैलाई बेचेकी हँु । म त प्रत्येक दिन फरक फरक मान्छेहरूसङ्ग ओछ्यान तताईरहन्छु । घरीघरी त सोच्छु, मैले पाप बेचेर धर्म कमाएको छु कि धर्म बेचेर पाप कमाएको छु । कुनै न कुनै दिन समयले मलाई अवश्य जवाफ देला ।
मैले धेरै स्वाभावको मान्छेहरू भेटेको छु । धेरैको व्यबहार नियालेकी छु । फेरि तिमिजस्तो ग्राहक आज पहिलोपटक भेट्दैछु, जसले मेरो यथार्थतालाई नजिकैबाट बुझ्ने कोशिश गरेको छ । मलाई बुझ्ने कोशिश गरेको छ ।’

युवती रोकिइ र रुन थाली । उसले युवतीलाई सम्झाउन खोज्यो तर सकेन । ऊ आफैलाई पनि खुब आत्मग्लानी भैरहेको थियो ।

’अब त बुझ्यौ होला नि ।’ युवती भित्तामा आडेश लगाएर रुन थाली । उसको मुखबाट जवाफ निस्किएन । ऊ मुर्ती बनेर उभिइरह्यो । गोजीमा हात हाल्यो र केही पैसा निकाल्यो । करिव ६–७ हजार थियो कि ? उसले गन्न सकेन । त्यत्ति नै पैसा उसको हातमा थमायो । युवतीले पैसा लिन मानिन ।

’राख न ! पछि काम लाग्ला ।’ उसले फेरि पैसा हातैमा राखिदियो । युवती अझै रोईरहेकी थिइ । उसको पनि आफ्नो कारण युवतीको आँसु खसेकोमा चित्त दुखेको थियो । त्यसैले धेरै बेर बस्न चाहेन । आफ्नो झोला बोक्यो र ढोका खोल्यो । ढोकाबाट बाहिरिनु अघि उसले अन्तिम प्रश्न गर्यो,
’तिम्रो बुवाको नाम के हो ?’
’चन्द्रप्रकाश कार्की ।’ युवतीले जवाफ फर्काई । उसले अन्तिमपटक युवतीको मुहार राम्रोसँग नियाल्यो । र ढोका बन्द गरेर बाहिरियो ।

त्यतिन्जेलसम्म साथी अनामनगरको बिगमार्ट अगाडि कुरिरहेको थियो । भेट भयो । हात होइन ज्यान मिलाए । अंकमाल गरिरह्यो धेरै बेर । धेरै ढिलो गर्नपनि चाहेन । बिगमार्टबाट तेर्सो लागेर भित्रको गल्ली पसे । साझ कोठामा खाए । पिए । बर्षौदेखिको एउटा उत्सव नै मनाए । साथीले धेरै खाएर होला, साथी निदाईहाल्यो । उसलाई भने निद्रा नै लागेन । मनमा धेरै तर्कहरु खेलाईरह्यो । जस्तैः नाम तिर्सना कार्की र मुहार मंगोल बर्णको हुनु । छातीमा उसकै बहिनी ताराको जस्तै कालो तारा जस्तो चिन्ह देख्नु । जुन मान्छेको नामको ठेगानामा उसले धेरै बर्ष पहिले आफ्नी बहिनी तारालाई खोजिहिडेको थियो, त्यो नाम र उसको बुवाको नाम एउटै हुनु । अर्थात चन्द्रप्रकाश कार्की हुनु । यस्तै यस्तै ।
०००