भारतका कप्तान सुनिल क्षेत्रीलाई अवार्ड नै अवार्ड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारतका कप्तान सुनिल क्षेत्रीलाई अवार्ड नै अवार्ड



साफ च्याम्पियनसिप २०२१ को व्यक्तिगत विधाको अवार्डमा भारतका कप्तान सुनिल क्षेत्रीले वर्चस्व जमाएका छन् । भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका सुनिलले फाइनलको म्यान अफ द म्याचसहित प्रतियोगिताको दुई मुख्य अवार्ड पनि हात पारे ।

प्रतियोगिता अवधिभर ५ गोल गर्दै सुनिल सर्वाधिक गोलकर्ता बने । त्यस्तै टोलीको उपाधि जितमा निर्णायक बनेका उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि हात पारे । प्रतियोगिताको फेयर प्ले अवार्ड भने आयोजक माल्दिभ्सले पायो ।

फाइनलमा नेपालमाथि ३-० को जितमा सुनिलकै गोलमा भारतले अग्रता लिएको थियो । त्यसअघि लिग चरणमा नेपालविरुद्ध जितमा समेत निर्णायक गोल गरेका सुनिल भारतीय आक्रमणमा मुख्य खेलाडी थिए ।

सुनिलले प्रतियोगितामा ५ खेलमा ५ गोल गरे । पहिलो खेलमा बंगलादेशविरुद्ध १-१ को बराबरीमा सुरुवाती अग्रता दिलाएका उनले नेपालविरुद्ध जितमा एकमात्र गोल गरेका थिए । माल्दिभ्सविरुद्ध ३-१ को जितमा दुई गोल गरेका सुनिलले फाइनलमा पनि सुरुवाती अग्रता दिलाएका थिए ।

सुनिलले यससँगै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ८० पुर्याएका छन् । उनले समग्रमा नेपालविरुद्ध १२ औं खेलमा ८ गोल गरे । सुनिलले साफ च्याम्पियनसिपमा मात्र आफ्नो गोलसंख्या १८ पुर्याएका छन् । उनी सन् २०११ को साफ च्याम्पियनसिपमा पनि ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।