स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा पन्त नियुक्त - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा पन्त नियुक्त



काठमाडौँ, माघ ७ गते । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा राजेन्द्र पन्त नियुक्त हुनुभएको छ ।

बालस्वास्थ्य महाशाखाका निर्देशक डा पन्तलाई मन्त्रीस्तरीय निर्णय गरी बिहीबार स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।

नवनियुक्त महानिर्देशक पन्तले आज डा पन्तले नियुक्ति पत्र बुझ्नुभएको छ । विभागका महानिर्देशक डा पुष्पा चौधरीलाई प्रसूतिगृहमै काज फिर्ता गरिएको सल्लाहकार पौडेलले बताउनुभयो ।

यसैगरी, सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रियाअघि बढाएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठान बनाउने सरकारले तयारी गरेको हो ।

विहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान निमार्णका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताउनुभयो ।

सल्लाहकार पौडेलका अनुसार प्रतिष्ठानको विधेयक तयार भइसकेकाले चाँडै संसद्मा दर्ता हुनेछ । सरकारले यो प्रतिष्ठाने प्रदेश नम्बर ५ का लागि स्थापना गर्न लागेको हो ।

सरकारले डा गोविन्द केसीले प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज हुनुपर्ने मागमा सहमति गरेसँगै यो प्रक्रिया अगाडि बढाइएको बताइएको छ । रासस