तरकारीमा झेल: व्यापारीको यस्तो खेल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तरकारीमा झेल: व्यापारीको यस्तो खेल



काठमाडौं । केही दिन यता तरकारीमो मूल्य ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार लगायत राजधानीका विभिन्न तरकारी बजारमा दैनिक अधिक माग हुने कतिपय ताजा तरकारीको मूल्य दोब्बर भएको छ।

व्यापारीसँग एक्कासि दोब्बर मूल्य बढ्नुको कारणबारे सोध्दा केहिदिन यता परेको झरीलाई कारण देखाउने गर्छन् । झरीले तरकारी आयात गर्न असहज भएको भन्दै मूल्य वृद्धि भएको तरकारी व्यवसायिहरूको जवाफ आउँछ । यस्तो नियती उनीहरूले झरी पर्ने वित्तिकै देखाउने गरेका छन् भने यस्तो खाले जवाफ पनि उनीहरूको पुरानो रेडिमेट जस्तै बनिसकेको छ ।

केही तरकारीको मूल्यमा ५० प्रतिशतभन्दा बढीले बृद्धि भएको पाइएको छ । गत हप्तासम्म प्रतिकिलो ५५ रहेको बोडीको मूल्य एक सय पाँच पुगेको छ । त्यस्तै, सिमी ७५ बाट एक सय २५, करेला ५५ बाट ९५, खुसार्नी ७५ बाट एक सय ५५ पुगेको छ ।

सरकारले बिचौलियालाई नियन्त्रण गर्न नसकेकाले व्यापारीले मन लाग्दी तरकारीको भाउ बढाएको उपभोक्ताको गुनासो छ । बानेश्वरमा तरकारी किन्दै गर्दा भेटीएकी हेमा रावतले एकाएक तरकारीको भाउ बढेर छोइनसक्नु भएको बताइन् ।

उनले केही दिन पहिले बोडि किन्दा ५५ रुपैयाँ तिरेकोमा अहिले सय रुपैयाँ तिरेको बताइन् । उनले पानी परेपछि मान्सा निकै महंगिएको र व्यापारीले सधै पानी पर्दा यस्तै नियत देखाउने गरेको गुनासो गरिन् ।

यस्तै गुनाो छ विद्यार्थी लिलाधर बोहराको । उनले आफूहरू जस्ता विद्यार्थी झनै महंगिको मारमा परेको गुनासो गरे । उनले तरकारी किनेर खानै नसक्ने अवस्था भए पनि सरोकारवालाले कुनै चासो नदिएको गुनासो गरे । सरोकारवाला पक्षले ध्यान नदिँदा तरकारीको मूल्य आकासिएको उनको गुनासो छ । उनले बिचौलियाले बिच बाटोमा चलखेल गर्दा यस्तो हुने गरेको गुनासो गरे ।

तर, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति भने बिचौलियाको कारण मूल्य बढेको मान्न तयार छैन । ‘धेरै तरकारीको उत्पादन अफ सिजन भएको कारण मूल्य बढेको हो । केही भारतबाट आउने तरकारीको मूल्य बढेरै आएको छ,’ समितिका सूचना अधिकरी विनय श्रेष्ठले भने । उनले केही दिनयता मौसमका कारण ढुवानीमा समस्या भएकाले तरकारी महंगो भएको बताए ।

उनले किसानको खेतबाट नै तरकारीको मूल्य बढेको जिकिर गर्दै बिचौलियाको कुनै भूमिका नरहेको बताए ।

तर, उपभोक्ताले भने उपभोक्ताको हक अधिकारका लागि भन्दै धेरै संघ संस्था रहेका भए पनि सबै मौन बसेको आरोप लगाएका छन् । सबैको मिलेमतोमा मूल्य बृद्धि हुनेगरेको उपभोक्ताको आरोप छ ।