टीम चौराह धनगढीद्धारा महेन्द्रनगर युनाइटेलाई ८ विकेटले पराजित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

टीम चौराह धनगढीद्धारा महेन्द्रनगर युनाइटेलाई ८ विकेटले पराजित



धनगढी कैलाली  । यहि चैत १७ गतेदेखि धनगढीमा जारी धनगढी  प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गत बुधबार भएको खेलमा टीम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडमाथि ८ विकेटको सहज जित हात पारेको छ।

महेन्द्रनगरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले १२ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेटायो। धनगढीका लागि सुनिल धमलाले सर्वाधिक नटआउट ४६ रनको पारी खेले। ४७ बलको सामना गरेका सुनिलले २ छक्का र ३ चौका प्रहार गरे।

यस्तै धनगढीका विदेशी खेलाडी यूएईका कप्तान समेत रहेका रोहन मुस्तफाले ३९ रन जोडे। ३० बल खेलेका रोहनले ३ छक्का र १ चौका प्रहार गरे। यस्ता अर्का यूएईकै खेला८ी अस्फाक अहमदले २४ बलको सामना गर्दै ३० रन जोडे। सो क्रममा उनले ६ चौका प्रहार गरेका थिए। सोनु तामाङ १५ रनमा नटआउट रहे।

जितसँगै चौथो स्थानमा रहेको धनगढी ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। धनगढीले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको हो।

उसका भारतीय खेलाडी पुनित मेहरा र भुवन कार्कीले सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै टोलीलाई सो स्कोरमा पुर्याएका थिए। ४२ बलमा यो जोडीले ५३ रनको साझेदारी गरेको थियो। मेहराले २५ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मदतमा ४० रन जोडे भने भुवन कार्कीले ४० बल खेल्दै २ छक्का र १ चौकाको मदमा ३२ रन जोडे।

त्यसअघि ६९ रनमै महेन्द्रनगरले सुरुवाती ६ विकेट गुमाइसकेको थियो। कप्तान विनोद भण्डारी ११, आसिफ सेख ८, हरिशंकर साह शुन्य, पुनित विष्ट २४, आरिफ सेख शुन्य र रोहित ३ रनमा आउट भएर दबाबमा आएको टोलीलाई पुनित र भुवनको साझेदारीले उकासेको थियो। धनगढीका ललितसिंह भण्डारीले ४ विकेट लिए। ४ अोभरको स्पेलमा उनले ३७ रन खर्चेका थिए। यस्तै, सोमपाल कामी र सामसद सेखले १–१ विकेट लिए।