डब्ल्यूएचओका महानिर्देशकले गरे देउवा सरकारको प्रशंसा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डब्ल्यूएचओका महानिर्देशकले गरे देउवा सरकारको प्रशंसा



काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन, डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गरेका छन् ।

उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री देउवासँग आज भएको शिष्टाचार भेटका क्रममा कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको डा टेड्रोसले बताएका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

त्यस अवसरमा डा टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप सुरु गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । नेपालले छोटो समयमै बाल तथा मातृमृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरुमा गरेको प्रगतिको पनि उनले प्रशंसा गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका थिए । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्वस्वास्थ्य सङ्गठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले विश्वस्वास्थ्य सङ्गठनलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यका क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राखेका थिए ।