‘ठेकेदारले राजनीति गर्न थालेपछि राजनेताहरुले के ठेक्कापट्टा गर्नुपर्ने हो अब ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘ठेकेदारले राजनीति गर्न थालेपछि राजनेताहरुले के ठेक्कापट्टा गर्नुपर्ने हो अब ?



चितवन /मंसिर ११  ।

वाम गठबन्धनका उम्मेदवारहरूलार्इ जिताउने अभियानमा अहिले कलाकारको टोली नै होम्मिएको छ। नेकपा एमाले र नेकपा माओवादी नेतृत्वको वाम गठबन्धनलार्इ जिताउन नेताहरूसँगै कलाकार पनि देशभरि घुमिरहेका छन् ।

यसै क्रममा चर्चित कलाकारहरू माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको चुनावी सभामा सहभागी भए ।

प्रचण्डको क्षेत्रमा चुनावी घरदैलोमा पनि निस्केका गायक गायिकाहरूले जनवादी गीत घन्काउँदै वाम गठबन्धनलार्इ भोट हाल्न आह्वान गरेका छन्।

प्रायः दोहोरी गीतमा घन्किरहने चर्चित लोक गायक बद्री पंगेनीले चितवनमा पुगेर प्रचण्डका लागि भोट मागेका छन् । पंगेनीले आइतबार र सोमबार चितवनस्थित माडीमा भएका चुनावी सभामा प्रचण्डकै अगाडि यसरी गीत गाए, ‘आउँछ, आउँछ प्रचण्ड आउँछ । कालो बादल फाटेर घाम लाउँछ ।’

पुत्र वियोगपछि चुनावी अभियानमा होमिएका प्रचण्डका अगाडि बद्रीले गीत घन्काइरहँदा सभामा जम्मा भएका मतदाता छमछमी नाचे । सडक नजिकै गरिएको यो चुनावी सभामा मतदाता गीतको लयमा मज्जाले नाचे ।

माडीको बाँदरझुलास्थित चौरमा गरिएको जनसभामा मतदातालार्इ कलाकारहरूले छमछमी नचाए । चर्चित संगीतकार चेतन सापकोटाले पनि गीतमा भाका हालेर माडीबासीलार्इ नाच्न बाध्य पारे । ‘आउ युवा हो, आउ साथी हो’, गीतसँगै चेतनले ‘वाम एकता जिन्दावाद’ बोलको गीत गाएर मतदातालार्इ नचाए ।

गायक बद्री र संगीतकार चेतनसँगै सोमबार चर्चित हाँस्य कलाकार मनोज गजुरेल माडीमा पुगे । सोमबार माडीमा आयोजित चुनावी सभामा व्यंग्य प्रस्तुत गर्दै उनले ‘गजुरियल संवाद’ बाट मतदातालाई भरपुर हँसाए । ‘ठेकेदारले राजनीति गर्न थालेपछि राजनेताहरुले के ठेक्कापट्टा गर्नुपर्ने हो अब ?’, भनेर प्रश्न गर्दा मतदाता मज्जाले हाँस्न पुगे ।

वाम गठबन्धनलार्इ चुनाव जिताउन राजधानीबाट कलाकारको टोली नै हिँडिरहेको छ । यी कलाकारको टोली पूर्वमा झापादेखि कन्चनपुरसम्म पुगिसकेको छ । प्रचण्डले अहिले चितवन ३ मा आफूलार्इ केन्द्रित गरेका छन्। वाम गठबन्धनले आगामी १७ गते आमसभा गर्दैछ । आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।