बसको टिकट कालोबजारी गर्ने ३० दलाल पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बसको टिकट कालोबजारी गर्ने ३० दलाल पक्राउ



असोज ३, काठमाडौं- 

चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना बिचौलियालाई पक्राउ परेका छन् । दसैंका लागि टिकट बुकिङ खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना बिचौलियाहरू पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीको अनुगमनका क्रममा अनधिकृत रूपमा टिकट बिक्री गर्ने ३० जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनालले बताए । ट्राफिक प्रहरीले लामो दुरीका लागि टिकट बुकिङ खुला भएसँगै अनुगमन सुरु गरेको हो ।

डीआईजी खनालका अनुसार कालोबजारी गरी टिकट बिक्री गर्नेहरूलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर पठाइएको छ ।

‘कसैले बढी भाडा लिएर टिकट बिक्री गर्छ भने उनीहरूलाई कानुनी दायरामा ल्याइनेछ,’ डीआईजी खनालले भने ‘मौका आउने बित्तिकै बढी भाडा लिएर सर्वसाधारणलाई दुःख दिन पाइँदैन ।’

टिकट बिक्री अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन भएको खनालले बताए । उनका अनुसार राजधानीका गोंगबु, कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वरलगायतका टिकट काउन्टरमा प्रहरी खटिएका छन् । सेवाग्राहीको सुविधाका लागि प्रहरीले टिकट काउन्टर नजिकै प्रहरीको अस्थायी सूचना कक्ष पनि सुरु गरेको खनालले बताए । ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार ४० हजार ८ सय ६८ टिकट बुकिङ भएको छ । यसमा रिजर्भ गाडी जोडिएको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पनि यात्रु हेल्प डेस्क सुरु गरिसकेको छ । दसैंमा यात्रुहरू ठगिनु साथै पकेटमारहरूको समेत बिगबिगी हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको हो ।