थोत्रो ब्रेथलाईजर र ट्राफिकको चेकिङ ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

थोत्रो ब्रेथलाईजर र ट्राफिकको चेकिङ !



दीपक घिमिरे

पछिल्ला वर्षहरूमा दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी निक्कै सक्रियताका साथ लागेको हामी सबैले देखेका छौ । छडके जाँच देखि लाईसेन्स वितरणमा कडाई गरेर दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सक्रियता देखाईरहेकै बेला अस्ति एउटा लज्जास्पद घटना आफ्नै आखाले देखे ।

गत बिहीबार साझ घोराही बजारको दाङ देउखुरी जिल्ला अदालत निरको चोकमा ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीले सवारी साधन रोकेर जाँच गर्दै थियो । कतिलाई लाईसेन्स हेरेर छाडिदै थियो त कतिलाई ब्रेथलाईजरमा फुकेर मापसे गरे नगरेको जाचिदै थियो । चेकिङ खतरा हुँदै थियो ।

साझको समयमा धेरै जसो मान्छेहरू चिरिप्प एक दुई क्वाटर मादक पदार्थ चढायर घर तिर जाने नेपाली परम्परा जस्तै भएको छ । दिनभरको कामले थाकेकाहरु रक्सीको नशामा रमाउने आफ्नै खालको संस्कृति विकसित हुँदैछ । यो राम्रो होइन । अझ मादक पदार्थ सेवन गरेर आफै सवारी हाकेर घर सम्म पुग्ने हिम्मत गर्नेहरुले आफू मर्छन या अरूलाई मारेका दुर्घटनाका खबर हामी दिनहु पढन पाउछौ । यसर्थ यस्ता चेकिङ अति आवश्यक छ ।

मापसे चेक गर्ने क्रमलाई निरन्तरता दिँदै गरेका प्रहरीले उत्तर तर्फ बाट आएको एउटा बाइकलाई रोके । युवाले रोकेपछी एकजनाले लाईसेन्स मागे , अर्काले ब्रेथलाईजरमा फुक्न लगाए । लाईसेन्स सही थियो , लाईसेन्स चेक गर्ने अर्को बाईक तर्फ मोडिए तर ब्रेथलाईजर बालाले बाईकको चाबी थुत्न खोजे । कुरा बुझ्दै जाँदा थाहा भयो , बाईक बालाले मापसे गरेको प्रसेन्टेज ब्रेथलाईजरमा देखियो ।
यति बेला सुरु भयो तनाव । बाईक वाला भन्दै थिए “ जीवनमा मापसे गर्दिन , कसरी देखाउछ मापसे गरेको ? “
प्रहरी भन्दैथिए “ मापसे नगरेको भए कसरी देखायो ? “

एक छिन भनाभनको स्थिति साम्य नहुदै ती बाईकवालाले फेरि फुक्ने अनुमति मागे । प्रहरी ले ब्रेथलाईजर उनको मुखमा पुर्‍याउदै भन्यो “ फुक्नुस । “

उनले दोस्रो पटक फुक्दा मापसे नगरेको देखायो । यति बेला ती प्रहरी झुक्न बाध्य भए अनि ती युवाले छुटकारा पाए । यस्तो अवस्थाको ब्रेथलाईजरले मापसे चेक हुँदा तपाईंहामिले कस्तो दुर्घटना न्युनिकरणको आशा गर्ने ? हो उनी ट्राफिक प्रहरी सामु बोल्न डराएनन , गल्ती गरेका थिएनन त्यसैले उनी झुकेनन । तर तपाईंहामी माझ यस्ता पनि मान्छे छन् जसले आफू निर्दोष हुँदा हुँदै पनि प्रहरी सामु बोल्न डराउछन । प्रहरी देख्ने बित्तिकै मुटुको धडकनले स्पिड पकडछ अनि थोत्रो ब्रेथलाईजरले मापसे देखायो भने ट्वाँ परेर सोच्नेछन “ कहाँ कतिबेला मापसे गरियो ? कि साथीले झुक्क्याएर खुवाईदियो ! “

थोत्रो ब्रेथलाईजरकै कारण ट्राफिकको चेकिङ माथि सर्वसाधारणले शङ्का गर्नुपर्ने अवस्था सृजना भयो अनि गलत रिपोर्टले बदनामी हुने डर त्यत्तिकै भयो । यस्तो ब्रेथलाईजर बोकेर चेकिङमा बस्नुको साटो मुखमा नाक जोडेर सास सुंघे भैहाल्यो ।

ब्रेथलाईजरले झुट देखाएको घटना नौलो होइन । यस्ता समस्या धेरै जसो देख्न सकिन्छ र पीडित बाट सुन्न पनि सकिन्छ । जीवनमा कहिल्यै मधपान नगर्नेलाई जड्याह बनाईदिन्छ भने दारुको नसामा टिल परेर आएकाहरुलाई फ्रेस देखाईदिन्छ । ट्राफिक प्रहरीले यो कुरा स्वीकार गरोस या नगरोस तर अहिले ट्राफिक प्रहरी सँग भएको ब्रेथलाईजरमा समस्या छ । यी ब्रेथलाईजरहरु थोत्रो भैसकेकोले सज्जनले दण्ड पाउने अनि दुष्टले न्याय पाउने अवस्था आएको छ ।

 

साझको समयमा धेरै जसो मान्छेहरू चिरिप्प एक दुई क्वाटर मादक पदार्थ चढायर घर तिर जाने नेपाली परम्परा जस्तै भएको छ । दिनभरको कामले थाकेकाहरु रक्सीको नशामा रमाउने आफ्नै खालको संस्कृति विकसित हुँदैछ ।

 

दुर्घटनाको हिसाबले निक्कै जोखिममा रहेको नेपालमा दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले सक्रियता बढाउनु स्वागत योग्य कुरा हो । ट्राफिक प्रहरीले छडके जाच गरेर मापसे गरेका , बिना लाईसेन्स सवारी गुडाउने अनि कागजपत्र नभएका सवारीलाई कारबाहीको दायरामा ल्याउनु खुसीको कुरा हो । यस्ले दुर्घटनामा कमी ल्याउछ तर मापसे गरेका सवारी अगाडि चेक देख्दा देख्दै कारबाहीमा पर्न आउदैन । लाईसेन्स नभएका सवारीचालक जरिवाना तिर्न चेकिङको लाइनमा बस्दैन । अनि कागजपत्र नभएका सवारी साधन ट्राफिकलाई गाडी बुझाउन कहिल्यै चेकिङ सम्म पुग्दैनन ।

ट्राफिक नियमको पालना गर्न सिकाउनु ट्राफिक प्रहरीको कर्तव्य हो । तर ट्राफिक नियम पालना नगर्ने सवारी साधन लाई कानुनी दायरामा ल्याउनुको साटो जरिवाना काटेर या लाईसेन्स या ब्लुबुक राखेर छाडिन्छ । यस्ले के प्रस्ट हुन्छ भने ट्राफिक नियम सम्बन्धी कसुर जरिवाना तिरेर छुटकारा पाइन्छ । यो कुनै ठुलो अपराध होइन ।

गोजिमा दुईचार सय हुनेहरुले बिना कागजपत्रको सवारी जहाँ सम्म र जहिले सम्म पनि गुडाउन पाउने भए किनभने चेकिङ हुने स्थानमा रसिद लिएर ट्राफिक आफै बसेका हुन्छन् । जहाँ चेक हुन्छ त्यहाँ पहिले सोर्स र पहुचका कुरा हुन्छन् , नचिनेका ट्राफिक परे भने गोजि बाट जरिवाना शुल्क बुझाए काम सकियो । ट्राफिक नियम र चेकजाचमा केही फरक ल्याउन नखोजियको भने पक्कै होइन । काठमाडौँ लगायतका ठुला सहरहरूमा अन द स्पट जरिवाना गर्न नपाईने आफ्नै नीति छन् । जसले गर्दा राजस्व असुलीका नाममा सवारीधनीले सास्ती बेहोर्नु पर्दैन तर त्यो पनि निक्कै झन्झटिलो छ । यही झन्झटिलो भएकै कारण सवारीधनि ट्राफिक प्रहरी सँग बार्गे्निङ गर्न थाल्दछन । कुनै एकान्त या कतै रेष्टुरामा बसेर मोलमलाई हुन्छ , बग्गीखाना सम्म कागजपत्र नपुर्‍याईदिए बापत कति बुझाउने भन्ने बारे ।

दुर्घटना न्युनिकरणका लागि थोत्रो ब्रेथलाईजर र नगदी रसिद बोकेर चोकमा उभिदैमा दुर्घटना न्युनिकरण हुँदैन , जनतामा ट्राफिक नियम सम्बन्धी राम्रो ज्ञानको आवश्यकता छ । ट्राफिक नियम सम्बन्धी जनचेतना बाडने काम भयो र ट्राफिक नियम उलंघन गर्नेलाई जरिवानाले होइन , दुईचार दिने हिरासतको व्यवस्था भयो भने आफै बाट दुर्घटना न्युनिकरण हुने ग्यारेन्टी छ । बाकी चोकमा बसेर मापसे चेक , लाईसेन्स र ब्लुबुक चेक गर्नु भनेको राजस्व सङ्कलनको बहाना मात्र हो । गोजीमा पैसा नहुनेहरु सवारीसाधन छाडेर हिडेरै आउछन , जो सँग सोर्स या रुपैयाँ छ उ इज्जतका साथी चेकिङ पार गर्दछ ।

लेखक घिमिरे