चीनमा फेरि लकडाउन घोषणा: झनै बढ्यो त्रास - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चीनमा फेरि लकडाउन घोषणा: झनै बढ्यो त्रास



एजेन्सी- दुई महिनाभन्दा बढी समयको लकडाउनबाट तंग्रिँदै गरेको चीनमा दोस्रो चरणको कोरोना प्रकोप बढ्‍नसक्‍ने भन्दै फेरि लकडाउनको घोषणा गरिएको छ । अधिकारीहरुका अनुसार चीनको मध्यक्षेत्रमा पर्ने हेनान प्रान्तमा पूर्ण लकडाउनको घोषणा गरिएको हो ।

उक्त प्रान्तको जिया क्षेत्रमा कर्फ्युजस्तै गरी लकडाउन घोषणा गरिएको हो । मानिसलाई घरबाहिर निस्किन पूर्ण प्रतिबन्ध लगाइएको छ । ६ लाख मानिसको बसोबास भएको उक्त क्षेत्रमा कसैलाई घरबाहिर निस्किनै परे विशेष अनुमति लिनुपर्ने बताइएको छ ।

दुई महिनाभन्दा बढी समयको निरन्तरको लकडाउनबाट कोरोना संक्रमणको फैलावटलाई नियन्त्रणमा लिएको चीनमा फेरि त्रास बढेको हो । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बुधबार ३६ नयाँ संक्रमित फेला परेका छन् ।

चिनियाँ नेताहरु आफ्नो अर्थतन्त्रलाई वृद्धि गर्नेतर्फ जोड दिन खोजिरहेका थिए तर संक्रमण नियन्त्रणलाई पनि सँगै लग्‍नुपर्ने चुनौती थपिएको छ । चिनियाँ राष्ट्रपति सी जिन पिङले मानव जीवनलाई सामान्य रुपमा ल्याउँदा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै संक्रमण फैलिने कुनै कसर बाँकी नराखेर लकडाउनलगायतका प्रतिबन्धहरु हटाउनसमेत अधिकारीहरुलाई चेतावनी दिएका छन् ।

चीनमा हालसम्म कोरोना संक्रमणबाट करिब ८२ हजार संक्रमित भएका थिए भने ३३ सयको मृत्यु भएको छ ।

जीया क्षेत्रका लागि जारी गरिएको सूचना भनिएको छ, “अत्यावश्यक काममा बाहिर निस्किनु परे विशेष अनुमति लिनुपर्ने, उक्त अनुमतिसहित बाहिर जाँदा तापक्रम मापन गरिने र अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ ।” अत्यावश्यक औषधि र खाद्यान्हबाहेक सम्पूर्ण व्यापार व्यवसायहरु बन्द गरिएका छन् ।